काठमाण्डु, ५ माघ– माओवादी केन्द्रका नेता एवं प्रतिनिधिसभा सदस्य माधव सापकोटाले कांग्रेस नेता मोहन बस्नेतलाई ज्ञानको आयतन बढाउन सुझाव दिएका छन् ।
सिन्धुपाल्चोकमा शनिबार आयोजित खबरदारी सभालाई सम्बोधन गर्दै उनले ज्ञानको आयतन बढाएर बुद्धिमतापूर्ण ढंगले माओवादीसँग बहस गर्न आउन आग्रह गरे ।
बस्नेतले गत महिना सिन्धुपाल्चोकमै आयोजित एक कार्यक्रममा सापकोटाप्रति अश्लिल शब्द प्रयोग गर्दै तल्लो स्तरको गाली गरेका थिए ।
सापकोटाले बस्नेत माओवादीसँग छेउ पनि पर्न नसक्ने बताए ।
‘धाक भन्दा धक्कू ठूलो भनेजस्तो जे गरिरहनुभएको छ । तपाईंको पतनको यात्रा त्यहाँबाट सुरु भएको छ । यसलाई रोकेर, ज्ञानको आयतन बढाएर, वुद्धि विवेक लगाएर बहस गर्न आउनुहुन्छ ? सापकोटाले भने, ‘स्वस्थ प्रकारको प्रतिस्पर्धा गर्नका लागि राजनीतिक उच्च संस्कारसहित सुविचारित ढंगले गर्न हामी तयार छौं । अरु दायाँबायाँ गरेर आउनुभयो भने यो पूरानो तरिका हो, तपाईं हामीसँग प्रतिस्पर्धा त के छेउ पनि पर्न सक्नुहुन्न ।’
सापकोटाले बस्नेतमा सांसद्समा हुनुपर्ने सामान्य ज्ञान नभएको आरोप लगाए । ‘कति प्रतिशत प्रतिनिधिसभाका बैठकमा जानुभयो ? कतिपटक सांसद हुनुभयो ? कतिवटा विधेयक बनाउन संशोधन दर्ता गर्नुभयो ?’, सापकोटाले भने ‘मलाई के लाग्छ भने कानुन निर्माणको प्रक्रिया के छ भन्ने पनि उहाँलाई थाहा छैन । किनभने उहाँले त्यो प्रक्रियामा भाग नै लिएको छैन ।’
बस्नेतले सापकोटा र उनका काकासमेत रहेका माओवादी उपाध्यक्ष अग्नि सापकोटाको नामै लिएर ‘सुबोध सापकोटा, अग्नि सापकोटा लगायत लिखुरेहरूलाई गर्धन मुनि, रुख माथि पारिदिन्छु ।’
त्यसको जवाफमा सापकोटाले भने, ‘तिघ्राका कुरा छाडिदिनुस् । कुस्ती गर्ने कुरा धेरै अगाडिको कुरा हो । अहिले कृत्रिम वौद्धिकताको कुरा आइसक्यो ।’
बस्नेतले उपभोक्ता समितिलाई सिफारिस बेचेको र गिटी बालुवा जम्मा गरेर बेचेर खाएको आरोप पनि सापकोटाले लगाए ।
नेता सापकोटाले संगै निर्वाचनमा हिँडे पनि मति हेर्दा जवाफ नदिई सुख नपाएको उल्लेख गरे ।