७ दलले ओलीको राजीनामा मागेपछि सूर्य थापाको प्रचण्डलाई जवाफः राजावादी र सहकारी ठगसँग मिलेर बिना चिल्लाको च्वाईच्वाईं

काठमाण्डु टुडे २०८१ माघ ५ गते १७:५६ मा प्रकाशित

काठमाण्डु, ५ माघ– एमाले नेता सूर्यबहादुर थापाले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राजावादी र सहकारी ठगहरुसँग मिलेर मोर्चाबन्दी गरेको आरोप लगाएका छन् ।

सामाजिक सञ्जालमार्फत थापाले ७ दलीय विपक्षी मोर्चाविरुद्ध आक्रोश पोखेका हुन् । माओवादी केन्द्र, रास्वपा, राप्रपा, एकीकृत समाजवादी, राष्ट्रिय जनमोर्चा, आमजनता पार्टी र नेपाल समाजवादी पार्टीले सरकारविरुद्ध मोर्चाबन्दी गरेकामा उनले आपत्ति जनाए ।

७ दलको बैठकले शुक्रबार संसद छलेर सरकारले अध्यादेशमार्फत निरंकुशताको अभ्यास गरेको, भ्रष्टाचारका विभिन्न काण्डहरुको फाइल बन्द गरी भ्रष्टाचारी संरक्षण गरेको, सार्वजनिक सेवा प्रवाहको अवस्था खराब रहेको, मूल्यवृद्धि बढेको, अर्थतन्त्र थप संकटतर्फ उन्मुख भएको जस्ता आरोप लगाएका थिए ।

उनीहरुले सकारको औचित्य सकिएकाले नैतिकतामा आधारमा प्रधानमन्त्रीले राजीनामा दिनुपर्ने माग पनि गरेका छन् ।

त्यसको प्रत्युत्तरमा थापाले लेखेका छन्, ‘२७५ सदस्यीय प्रतिनिधिसभामा ८१ सदस्यीय मोर्चाबन्दी । (राजतन्त्रको पुनस्थापना, प्रतिगमनको सेवा, सहकारी ठगी गर्न पाउनैपर्ने, भ्रष्टाचारको ढाकछोप, सत्ताको स्वाद मिलेर सझिनुपर्ने आदि साझा एजेण्डा) बिना चिल्लाको च्वाईच्वाईं ।’

सहकारीको बचत अपचलन छानबिनसम्बन्धी संसदीय समितिका सभापतिसमेत रहेका थापा वर्तमान ओली नेतृत्वको सरकारको बचाउमा सामाजिक सञ्जालमा भिड्दै आएका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us