विराटनगर, ५ माघ– माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकारको कार्यशैलीप्रति भत्र्सना व्यक्त गरेका छन् ।
मोरङको ग्रामथानमा शनिबार आयोजित खबरदारी सभालाई सम्बोधन गर्दै प्रचण्डले सरकारको ‘चोरलाई चौतारो, साधुलाई सुली’ शैलीमा अघि बढेको आरोप लगाए ।
नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाउने र विवादित मन्त्री दिपक खड्कालाई संरक्षण गर्ने प्रधानमन्त्री केपी ओलीको शैली ‘चोरलाई चौतारी, साघुलाई सुली’ भन्ने उखानसँग मेल खाएको उनको भनाइ थियो । मन्त्री खड्कामाथि स्काउटको भाडा विवाद र विभिन्न विद्युत आयोजना ठेक्कामा दिँदा रकम लेनदेन गरेर ठेकेदार कम्पनीहरुबीच सहमति गराएको आरोप लागेको छ ।
प्रचण्डले आफू नेतृत्वको सरकारले कुलमानलाई प्राधिकरणको कार्यकारी निर्देशक नियुक्त गरेको र उनकै नेतृत्वमा नेपालबाट लोडसेडिङ अन्त्य भएको विषय कसैले मेटाउन नसक्ने बताए ।
उनले विगतमा कुलमानलाई मुलुककै काबिल अफिसर भन्ने काँग्रेसका नेताहरु पनि ओलीका अगाडि चुप लागेको भन्दै आश्चर्य प्रकट गरे । ‘नेपालकै सबैभन्दा काविल अफिसर कुलमान घिसिङ, देशकै सम्पति हो कुलमान भन्थे कांग्रेसका वरिष्ठ नेता । उनलाई नेतृत्वमा ल्याएपछि र मेरो नेतृत्वको सरकारले जर्नादन शर्मालाई उर्जामन्त्री बनाएपछि लोडसेटिङ मुक्त भयो,’ प्रचण्डले भने, ‘अहिले हेर्नुहुन्छ भने त्यही कुलमान घिसिङलाई दिनदिनै सताएको छ । सताएको छ, अत्याएको छ अत्याएको छ । ‘चोरलाई चौतारो साधुलाई सुली’ भनेको यही होइन त ।’
उनले घाटामा गएको प्राधिकरण ५० अर्ब हाराहारी नाफामा गएपछि दलालहरूलाई असह्य भएको टिप्पणी गरे ।
प्रचण्डले विगतमा कहिले काँग्रेस र कहिले एमालेसँग मिलेर चुनाव लडे पनि आगामी निर्वाचनमा एक्लै मतदातामा जाने उल्लेख गरे ।
ग्रामथानका जनताले स्थानीय तहको निर्वाचनमा आफ्नो पार्टीको उम्मेदवारलाई जिताएर ठूलो गुण लगाएको उनको भनाइ थियो ।
०६४ मा पहिलो पार्टी भएर पनि भनुभवका कारण आफुहरुले राम्ररी चलाउन नसकेको स्वीकार उनले गरे ।
०६४ को जस्तो जनमत पाए अहिलेको सुझबुझपूर्ण चेतना र शैली अपनाएर मुुुलुकमा साँच्चै परिवर्तनका अनुभूति गराउने दाबी प्रचण्डले गरे ।