एमाले प्रवेश गर्दै विश्वमणि सुवेदी

काठमाण्डु टुडे २०८१ माघ ४ गते ११:०० मा प्रकाशित

काठमाण्डू, ४ माघ– नेकपा एकीकृत समाजवादी सम्वद्ध पत्रकारको संस्था समाजवादी प्रेस संगठनका अध्यक्ष विश्वमणि सुवेदी एमाले प्रवेश गर्ने भएका छन् ।

सुवेदीलाई एमाले महासचिव शंकर पोखरेलले राजधानीमा शुक्रबार आयोजित एक कार्यक्रमबीच पार्टीमा स्वागत गर्नेछन् ।

पार्टी नेतृत्व र नीतिविपरीत सार्वजनिक रुपमा विचार अभिव्यक्त गरेको आरोपमा समाजवादीका केन्द्रीय कार्यालय सचिव रामकुमार भट्टराईले सुवेदीसँग बिहीबार २४ घण्टे स्पष्टीकरण सोधेका थिए ।

तर, सुवेदीले आफूले स्पष्टीकरण नदिने बताए । प्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष केपी ओलीसँग प्रतिशोध साँध्ने मात्र काम गरेर पार्टी र आनदोलनलाई अघि बढाउन नसकिने विचार राखेका कारण अध्यक्ष माधव नेपाल नै आफूविरुद्ध लागेको टिप्पणी सुवेदीले गरे ।

‘एजेण्डा छैन, आन्दोलन अगाडि बढाउने कुनै योजना र उत्साह छैन । खाली केपी ओलीको खोइरो खनेर मात्र हुँदैन भन्ने मेरो धारणामा उहाँहरु सहमत हुन सक्नुभएन’, सुवेदीले काठमाण्डूटुडेसँग भने, ‘आमजनताको अपेक्षाअनुसारको विचार राख्दा ममाथि स्पष्टीकरण सोध्ने काम भएकाले पुरानै घरमा फर्कन लागेको हुँ ।’

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us