काठमाण्डु, १५ भदौ– एमाले उपाध्यक्ष युवराज ज्ञवालीले वर्तमान सुशील कोइराला नेतृत्वको सरकार इतिहासकै सुस्त भएको आरोप लगाएका छन् ।

रिर्पोटर्स क्लब दाङ शाखाले तुलसीपुरमा आइतबार गरेको कार्यक्रममा उनले सरकार मन्द गतिमा चलेका कारण राज्यका महत्वपूर्ण कामकारबाही प्रभावित भएको बताए ।
सुस्त गतिको सरकारका कारण बाढीपीडितको राहत र पुनर्स्थापना तथा संविधान निर्माणका ढिलाइ भएको ज्ञवालीको भनाइ थियो । सरकार गठनअघि भएको सातबुँदे सहमतिअुनसार राष्ट्रपति र उपराष्ट्रपतिलाई संसदबाट अनुमोदन गराउन आनाकानी गरिरहेको भन्दै उनी सरकार नेतृत्वकर्ता दल काँग्रेसविरुद्ध खनिए ।
ज्ञवालीले कार्यतालिकामा केही फेरबदल भए पनि माघ ८ मै संविधान जारी गर्न दलहरु प्रतिबद्ध हुनुपर्ने उल्लेख गरे । उनले सहमति हुन नसकेका विषयको टुंगो प्रक्रियाबाटै लगाइनुपर्ने बताए ।
अर्को एक फरक प्रसंगमा उनले आलोपालो नेतृत्व गर्ने सहमति भए उच्चस्तरीय राजनीतिक समिति गठनका लागि एमाले तयार रहेको बताए ।