काठमाण्डू, ३ माघ– प्रहरीले पूर्वप्रेमिकाको चरित्र हत्या आरोपमा दुई युवा पक्राउ परेका छन् ।
प्रहरीको साइबर ब्युरोको टोलीले रामेछापका १९ वर्षीय श्रीकृष्ण कार्की र भोजपुरका ३१ वर्षीय सरोज कटुवाललाई पक्राउ गरेको हो । ब्युरोका एसपी दिपकराज अवस्थीले फरकफरक मुद्धामा उनीहरुलाई पक्राउ गरिएको बताए ।
सामाजिक सञ्जालमार्फत चिनजान भएकी युवतीसँग प्रेम गरेका कार्कीले मोबाइलमा प्रेमिकाको नग्न तस्बिर र भिडियो खिचेका थिए । तर, सम्बन्धमा खटपट भएपछि उक्त तस्बिर र भिडियो आफ्ना साथीहरुलाई पठाएर चरित्र हत्या गरेका थिए ।
कटुवालले पनि प्रेमिकासँगको शारीरिक सम्पर्कको भिडियो बनाएका थिए । कार्कीले ती महिलाकी बहिनीलाई सामाजिक सञ्जालमार्फत अश्लिल भिडियो पठाएको कसुरमा उजुरी दायर भएको अवस्थीले बताए ।
ब्युरोले उनीहरूविरूद्ध विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गतको कसुरमा अनुसन्धान जारी रहेको जनाएको छ ।