काठमाण्डु, १५ भदौ– पशुपति क्षेत्र विकास कोषले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पशुपतिनाथ मन्दिरमा विशेष पूजा गरेपछि विशेष पूजा गर्नेको
संख्या बढेको जनाएको छ ।
कोषका सदस्यसचिव गोविन्द टण्डनले मोदीले पूजा गरेपछि अन्तर्राष्ट्रिय क्षेत्रमा प्रचार भएकाले विशेष पूजा गर्नेको संख्या बढेको बताए । गत महिना नेपाल आएका मोदले पशुपतिमा विशेष पूजा गरेका थिए । उनले मोदीपछि बलिउडका चर्चित कलाकार अनुपम खेर र चिरञ्जीवी कोनिडालाले पशुपतिमा विशेष पूजा गरेको बताए ।
कोनिडालाले गत भदौ ६ गते र खेरले ७ गते पशुपतिमा विशेष पूजा गरेका थिए । मोदी आएर गएपछि विशेष पूजा गराउने र पशुपतिमा दर्शन गर्न आउने भारतीय संख्यामा उल्लेख्य वृद्धि भएको कोषले जनाएको छ । जन्मदिन वा विशेष अवसरमा पशुतिमा विशेष पूजा गर्नाले मनोकामना पूरा हुने धार्मिक विश्वास छ ।
पशुपतिमा एक हजार १ सयदेखि २५ लाख रुपैयाँसम्मको विशेष पूजा हुने गरेको छ ।