काठमाण्डू, ३ माघ– सर्वोच्च अदालतले नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका बेचन झालाई थुनामा राख्नुपर्ने कारण माग गरेको छ ।
न्यायाधीश नित्यानन्द पाण्डेयको इजलासले बिहीबार झालाई थुनामा राखिएको विषयमा कारण देखाऊ आदेश जारी गरेको हो । आफूलाई गैरकानूनी रुपमा थुनामा राखेके भन्दै झाका तर्फबाट बुधबार बन्दी प्रत्यक्षीकरणको रिट दायर गरेको थियो ।
फरार प्रतिवादी झा गत १४ असारमा पक्राउ परेका थिए । काठमाण्डू जिल्ला अदालतले गत २ भदौमा पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको थियो ।
हाल उनलाई केन्द्रीय कारागार सुन्धारमा राखिएको छ । उच्च अदालत पाटनले झालाई गत २७ मंसिरमा थुनामुक्त गर्न अस्वीकार गरेको थियो ।
झा पक्राउ परेपछि उनले वर्तमान सत्ता गठबन्धनका शीर्ष नेता निकट व्यक्तिहरुको सहयोगमा नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने काम गरेको बयान दिएका थिए ।
झा पक्राउ परेपछि आफूहरु पनि तानिने डरले प्रतिनिधिसभाका दुई मुख्य दल काँग्रेस र एमालेबीच १७ असारको मध्यरातमा सत्ता गठबन्धनसम्बन्धी ७ बुँदे सहमति भएको थियो ।
झा पक्राउ परेका कारण तत्कालीन पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकार ढलेको आरोप लाग्दै आएको छ ।