चितवन, ३ माघ– माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकारका पछिल्ला गतिविधिका कारण संघीय लोकतान्त्रिक गणतन्त्र दुर्घटनामा पर्ने खतरा बढेको दाबी गरेका छन् ।
गृहजिल्ला चितवनको माडीस्थित सोमेश्वर माध्यमिक विद्यालयको स्वर्ण जयन्ती समारोहलाई सम्बोधन गर्दै उनले संविधानसहितका लोकतान्त्रिक आन्दोलनका उपलब्धी खतरामा परेको बताए । संसदको पहिलो र दोश्रो दल मिलेर असंवैधानिक, अप्राकृतिक र अपारदर्शी ढंगबाट सरकार बनेको उनको भनाइ थियो ।
‘सरकारका गतिविधिका कारण संघीय लोकतान्त्रिक गणतन्त्रमाथि नै दुर्घटना हुने हो कि भन्ने खतरा पैदा भएको छ,’ प्रचण्डले भने, ‘संविधान, लोकतन्त्र, समावेशी र समानताका खोस्न खोजियो भने देश राजनीतिक खतरामा जान सक्छ ।’
उनले मुलुकलाई दुर्घटनाबाट बचाउन जनताहरु आफ्नो ठाउँबाट उठ्नुपर्ने बेला आएको उल्लेख गरे । प्रचण्डले आफू नेतृत्वको सरकारले जनतामा आशा जगाउने गरी गरेका सकारात्मक काम उल्ट्याउन खोजेको आरोप लगाए ।
वर्तमान सरकार बनेयता संविधान र लोकतन्त्रको मर्यादाविपरीत धेरै काम भएको आरोप उनले लगाए । फरक प्रसंगमा प्रचण्डले सरकारले हालै लोकतन्त्रविपरीत अध्यादेश ल्याएको बताए ।
प्रतिनिधिसभाको समितिमा विचाराधीन विधेयकसमेतेको वास्ता नगरी सरकारले अध्यादेश ल्याएकामा उनले आपत्ति प्रकट गरे ।