सरकारले केही गर्न सकेन भन्ने भएपछि हाम्रो सहमतिमै अध्यादेश आएको होः काँग्रेस

काठमाण्डु टुडे २०८१ माघ ३ गते १४:०९ मा प्रकाशित

काठमाण्डू, ३ माघ–सत्तारुढ नेपाली काँग्रेसले प्रधानमन्त्री केपी ओलीले आफूहरुसँगको सहमतिमै अध्यादेशहरु ल्याएको स्पष्टीकरण दिएको छ ।

सभापति शेरबहादुर देउवाले आफनै निवास बूढानीलकण्ठमा बिहीबार बिहान आयोजना गरेको पार्टीका मन्त्रीहरुसँगको छलफलपछि सञ्चारकर्मीसँग कुरा गर्दै काँग्रेस प्रमुख सचेतक श्याम घिमिरेले यस्तो बताएका हुन् ।

उनले अर्थतन्त्रमा विद्यमान संकट टार्न र सुशासन कायम गर्न जरुरी भएकाले अध्यादेश ल्याइएको बताए । सरकारले विवादास्पद भूमिसम्बन्धीसहित विभिन्न ५ अध्यादेश ल्याएको थियो ।

राष्ट्रपति रामचन्द्र पौडेलले दुई चरणमा गरी ती अध्यादेश जारी गरिसकेका छन् । ‘हामीसँग सल्लाह गरेरै सरकारले अध्यादेश ल्याएको हो’, घिमिरेले भने, ‘तत्काल अध्यादेश नल्याउँदा सरकारले केही गर्न सकेन भन्ने सन्देश जनतामा प्रवाह हुने अवस्था आयो ।’

उनले कानूनी राज्यका सरकारले कानूनको संशोधन गर्नुलाई अन्यथा मान्न नमिल्ने जिकिर गरे ।

यद्यपि काँग्रेस वरिष्ठ नेता शेखर कोइराला, एनपी साउद, अर्जुननरसिंह केसीलगायत नेताले संसद बोलाउन छाडेर सरकारले अध्यादेशबाट देश चलाउने गलत परम्परालाई संस्थागत गर्न खोजेको भन्दै सार्वजनिक रुपमै असन्तुष्टि जनाइरहेका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us