काठमाण्डू, ३ माघ– गृहमन्त्री एवं काँगेस नेता रमेश लेखकले एमालेसँगको सत्ता सहकार्यमा कुनै समस्या नरहेको दाबी गरेका छन् ।
सभापति शेरबहादुर देउवाले आफनै निवास बूढानीलकण्ठमा बिहीबार बिहान आयोजना गरेको पार्टीका मन्त्रीहरुसँगको छलफलपछि सञ्चारकर्मीसँग कुरा गर्र्दै लेखकले गठबन्धनमा समस्या नरहेको बताएका हुन् ।
सरकारमा समस्या भएर भन्दा पनि आफ्ना मन्त्रालयका कामलाई कसरी प्रभावकारी बनाउने भन्नेबारे छलफल आयोजना गरिएको उनको भनाइ थियो । ‘काँग्रेस र एमालेको बीचमा कुनै समस्या छैन,’ लेखकले भने, ‘सरकारमा कुनै बाधा, व्यवधान अप्ठेरा छैनन् ।’
लेखकले सभापति देउवासहितका शीर्ष नेतालाई मन्त्रीहरुले आफ्नो मन्त्रालयको कामबारे ब्रिफिङ गरिरहेको जनाए ।
लेखकका अनुसार एमालेसँग गत १७ असारको मध्यरातमा भएको ७ बुँदे सहमतिको भावनाअनुसार सरकार अघि बढनुपर्नेमा मन्त्रीहरुको जोड छ ।
नागरिकलाई सेवा प्रवाहमा सजिलो बनाउने ताथ आर्थिक सुशासन कायम गर्न केन्द्रित भएर काम गर्नुपर्ने उनले बताए ।