यस्तो छ योगेश भट्टराईले केपी ओलीलाई लेखेको पत्र

काठमाण्डु टुडे २०७१ भदौ १५ गते ६:३२ मा प्रकाशित

yogeshकमरेड अध्यक्ष
नेकपा (एमाले ) केन्द्रीय कार्यालय बल्खु
विषय: ध्यानाकर्षणबारे ।
कमरेड, यसबीचमा पार्टीको निर्णय भनेर सार्वजनिक सञ्चार माध्यमहरुबाट थाहा पाइएका केही विषयहरुमा गम्भीर आपत्ति प्रकट गर्दै यो ध्यानाकर्षणपत्र प्रेसित गरेको छु ।
१. संविधानसभामा मन्त्रिपरिषदबाट मनोनयन गर्ने २६ जना सभासदहरुको मनोनयनका बारेमा पार्टीभित्र औपचारिक तथा अनौपचारिक रुपमा कुरा हुँदै आएकोमा ०७१ भाद्र ११ गते पार्टीको संसदीय दलको कार्यालय सिंहदरबारमा केन्द्रीय पदाधिकारीको बैठकमा कार्यसूची नै राखेर छलफल भएको कमरेडलाई स्मरण नै छ ।
सो दिनको बैठकमा लामो छलफल पश्चात सम्बन्धीत सबैसँग सम्भावित व्यक्तिहरुको नाम मागेर पार्टी अध्यक्षले प्रस्ताव तयार गरी पदाधिकारीको अर्को बैठकमा पेस गर्ने र सोही बैठकले निर्णय गरी हाम्रो पार्टीले प्राप्त गरेको आठ जनाको नाम प्रधानमन्त्रीलाई बुझाउने निर्णय भएको थियो ।
सोहीअनुरुप अध्यक्ष कमरेडले नाम माग्नु भएअनुसार कमरेडलाई इमेलमार्फत नाम पठाएको कुरा पुनः स्मरण गराउन चाहन्छु । तर भाद्र ११ गतेपछि पदाधिकारीको कुनै बठैक नबोलाई र अघिल्लो बैठकले दिएको जिम्मेवारीलाई प्रक्रियागत रुपमा पूरा नगरी भाद्र १४ गते नेकपा (एमाले ) का तर्फबाट आठजनाको नाम प्रस्तुत भएको कुरा सञ्चारमाध्यमबाट थाहा पाउनुपर्दा म आफैं लज्जित भएको छु । यो घटनाले पार्टीलाई अनपेक्षित संकटतिर धकेल्ने कोसिस भैरहेको छ भन्ने आभास भएको छ । त्यसमा पनि पार्टीको प्रमुख नेता अध्यक्षबाटै यस्तो अलोकतान्त्रिक, अपारदर्शी तथा छलकपटपूर्ण कार्यको अगुवाई हुनुले पार्टीको सार्वजनिक छविमा कस्तो असर पर्ला ? सबैले गम्भीर भएर सोच्नुपर्ने भएको छ ।
२. नेकपा (एमाले) को तर्फबाट व्यवस्थापिकका संसदका चारवटा विभिन्न समितिको सभापतिको उम्मेदवार चयन गर्दा बारम्बार पार्टीमा औपचारिक एजेण्ड बनाएर छलफल गरौं भन्ने माग गर्दागर्दै पार्टी र संसदीय दलका कुनै पनि संरचनामा छलफलै नगरी नाम अघिसार्नु र पार्टी अध्यक्षजस्तै प्रक्रियाबाट निर्वाचित भएको पार्टीको एकजना पदाधिकारीले त्यसको जानकारी सार्वजनिक माध्यमबाट थाहा पाउनुले व्यक्तिगत रुपमा मेरो मात्र होइन, लामो राजनीतिक जीवन र संघर्षको इतिहास बोक्नुभएका र स्वयम् लोकतान्त्रिक आन्दोलनको योद्धा तपाइँ अध्यक्षलाई जीवनको उत्तरार्धमा कस्तो सार्वजनिक परिचयप्राप्त होला ?
३. यसबीचमा नेकपा (एमाले) को जिम्मेवारीमा रहेको भूमिसुधार मन्त्रालयले देशका ७२ वटा जिल्लामा जिल्लास्तरीय सुकुम्बासी समास्या समाधान समिति निर्माण गरिंदै छ भन्ने सूचनाका आधारमा त्यसबारेमा पार्टीका बैठकहरुमा चासो राख्दै आएको र त्यस्ता समितिमा पठाउने व्यक्तिहरुको सिफरिस गर्दा पार्टीको औचारिक निर्णय हुनुपर्ने कुरा बारम्बार उठाउँदै आएको कुरा कमरेडलाई अवगतै छ ।
बैठकमा भएको छलफलका आधारमा पहिलो स् पार्टी जिल्ला कमिटीको बैठकको सिफारिस, दोश्रोः पूर्ण बैठक बस्न नसके सचिवालयको सिफारिस र त्यो पनि भएन वा विवाद भएमा जिल्ला अध्यक्ष र महाधिवेशनपछिको सन्दर्भमा कार्यबाहक अध्यक्षको सिफारिसलाई नियुक्तिको अधार बनाउने सहमति भएको हो । तर उक्त समिति गठन र त्यसका अध्यक्ष र सदस्यहरुको नाम हेर्दा अधिकांश जिल्लामा उपरोक्त आधारलाई बेवास्ता गरिनुका साथै यसमा पार्टी महाधिवेशनको बेलामा देखिएको समूहगत मान्यतालाई एकपक्षीय ढङ्गले प्रोत्साहित गर्ने काम भएको छ ।

कमरेड, ०७१ श्रावण १ गते पार्टी केन्द्रीय कार्यालयमा आयोजित नवौं महाधिवेशनको समापनका अवसरमा ‘मैले पार्टीलाई एकताबद्ध बनाएर लान्छु, कसैलाई काखा र कसैलाई पाखा मबाट हुनेछैन’ । ‘मेरा लागि अरुलाई जस्तो सुविधाजनक समय छैन, छोटो समयमा मैले धेरै काम गर्नु छ ।’ पकटपटकका बैठक र कार्यक्रमहरुमा ‘म एकपटक अध्यक्ष हुनुथियो, भैहालेँ अब अर्को पटक हुनुछैन, त्यसैले मैले गुटबन्दी गर्नु छैन र गर्दिन ।’ भनेर तपाँईले दिनुभएको मन्तव्यलाई कमरेडको दिमागको मात्र होइन, हृदयको अभिव्यक्तिका रुपमा बुझेर पार्टीको एकताका खातिर तपाँईलाई सहयोग गर्ने प्रतिबद्धता मेरा तर्फबाट सार्वजिनक गर्दै आएको हुँ । तर उपरोक्त कदमहरुबाट कमरेडका भावुक अभिव्यक्तिहरु फगत माया जालमात्र त होइनन् ? आज म र मजस्ता पार्टीका हितचिन्तकहरुको मनमा जबरजस्त रुपमा प्रश्न उठ्न पुगेको छ ।
नेकपा (एमाले) को आजको राष्ट्रिय कार्यभार पार्टीको बृहत्तर एकता कायम गर्दै, घोषित मितिमा संविधान जारी गर्नु, आउने स्थानीय निकाय, संसद र अन्य जनप्रतिनिधिका लागि हुने निर्वाचनमा बहुमत हासिल गर्नु, जनपक्षिय र प्रगतिशील सरकारको निर्माण गरी समाजिक/आर्थिक रुपान्तरणका माध्यमवाट सम्मृद्ध नेपाल निर्माण गर्नु, सम्पन्न भएको राजनीतिक क्रान्तिलाई संस्थागत गर्दै समाजवादका आधार तयार गर्नुजस्तो महान र ऐतिहासिक कार्यभार कमरेडको नेतृत्वमा अघि बढाउन उपरोक्त कदमहरु अवरोधक हुनेछन् । तसर्थ ती निर्णयहरुमा भएका प्रक्रियागत कमजोरीलाई सच्याउन तुरुन्तै औपचारिक तथा संस्थागत कदम चाल्न हार्दिक अनुरोध गर्दछु ।
१. कार्यबाहक अध्यक्ष कमरेड बामदेब गौतम: यस विषयमा औपचारिक रुपमा एजेण्डा बनाई छलफल गर्ने अवसरका लागि अनुरोध छ ।
२. महासचिव कमरेड ईश्वर पोखरेल: यस विषयमा औपचारिक रुपमा एजेण्डा बनाई छलफल गर्ने अवसरका लागि अनुरोध छ ।
३. सम्पूर्ण पदाधिकारी कमरेडहरु जानकारीका लागि
योगेश भट्टराई
सचिव, नेकपा (एमाले )

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us