६० लाख धरौटी बुझाएर रिहा भए रवि लामिछाने

काठमाण्डु टुडे २०८१ माघ २ गते १९:३७ मा प्रकाशित

काठमाण्डू, २ माघ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने ६० लाख धरौटी बुझाएर रिहा भएका छन् ।

बैंक जमानतमा ६० लाख रुपैयाँ धरौटी बुझाएर लामिछाने रिहा भएका हुन् ।

जिल्ला अदालत काठमाण्डूका न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासले बुधबार उनलाई ६० लाख धरौटीमा छाड्न आदेश दिएको थियो । थुनछेक बहस नसकिएपछि लामिछानेलाई जिल्ला प्रहरी परिसर काठमाण्डूको हिरासतमा राखिएको थियो ।

लामिछानेलाई काठमाण्डूको कालिमाटीस्थित स्वर्णलक्ष्मी बचत तथा ऋण सहकारी संस्थाका बचतकर्ताको रकम गैरकनूनी रुपमा गोर्खा मिडियामा लगेर खचै गरेको कसुरमा प्रतिवादी बनाएर मुद्धा दायर गरिएको हो । जिल्ला सरकारी वकिल कार्यालयले लामिछानेसँग पाँच करोड बिगो दाबी गरेको थियो ।

यसअघि लामिछाने गत बिहीबार पोखराको सूर्यदर्शन सहकारीको बचत अपचलन कसुरमा जिल्ला अदालत कास्कीको आदेशमा ६५ लाख धरौटी बुझाएर रिहा भएका थिए ।

लामिछानेविरुद्ध प्रहरीले बुटवलको सुप्रिम, चितवनको सहारा र वीरगन्जको सानोपाइला सहकारीको रकम अपचलनको कसुरमा समेत मुद्धा दायर गर्ने तयारी गरेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us