काठमाण्डू, २ माघ– नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले सत्ताको दुरूपयोग भइरहेको आरोप लगाएका छन् ।
बुधबार पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बसेको समाजवादी मोर्चाको बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले यस्तो आरोप लगाएका हुन् ।
उनले सत्ताको बारेमा आफूले कुनै कुरा नगरेको उल्लेख गर्दै सरकारले संविधान र संसदलाई उपेक्षा गरेको बताए ।
उनले संसदको बैठकलाई छलेर र विधेयकहरू समितिमा विचाराधीन रहेको अवस्थामा अध्यादेश ल्याउन नहुने बताए ।
अध्यादेश ल्याउनका लागि समितिमा विचाराधीन विधेयक पहिला फिर्ता गर्नुपर्ने बताए । अध्यादेश ल्याउँदा पनि सबैसँग छलफल भए विवाद कम हुने बताए ।
उनले भने, ‘मैले सत्ताको बारेमा केही भनेको छैन । सत्ताको दुरूपयोग भइरहेको छ । सरकारले संविधानलाई र संसदलाई उपेक्षा गर्ने काम गरिरहेको छ । संसदको बैठकलाई छलेर त्यसमा पनि विधेयकहरू समितिमा विचाराधीन रहेको अवस्थामा अध्यादेश ल्याउने काम भएको छ । यो नियम विपरीतको काम हो । यस्तो कामहरूको बारेमा सरकारलाई हामीले खबरदारी गर्नुपर्छ । यस्ता कुराबाट पछि हटोस् भनेर त्यसको निम्ति दबाब दिनुपर्छ । विधि प्रक्रियाको उल्लंघन हुनुभएन । विधेयक समितिमा छ भने समितिबाट पहिला फिर्ता हुनुपर्छ । बल्ल अध्यादेशको रूपमा आउनसक्छ । विधेयक समितिमा विचाराधीन हुँदाहुँदै त्यसमा अध्यादेश ल्याउन पाइँदैन । अध्यादेश ल्याउनै छ भने छलफलको विषय बनाउँदा विवाद कम हुन्छ । छलफलपछि राम्रो हुन्छ । सरकारले राम्रो काम गरोस् भन्ने शुभेक्षा छ ।’
अध्यक्ष नेपालले सरकारले राम्रा काम गरोस् भन्ने आफूहरूको शुभेक्षा रहेको बताए ।