काठमाण्डू, २ माघ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीमाथि हातपात भएकोमा आफ्नो दलको ध्यानाकर्षण भएको जनाएको छ ।
कार्यवाहक प्रवक्ता मनिष झाले विज्ञप्ति जारी गर्दै हातपातमा पार्टी कार्यकर्ता संलग्न रहेको पाइए कारबाही गर्ने बताएका छन् ।
सहकारी पीडितका तर्फबाट बहस गरेका त्रिपाठीमाथि काठमाण्डु जिल्ला अदालत परिसरमा बुधबार अपराह्न आक्रमण भएको थियो । त्रिपाठीले काठमाण्डूको स्वर्णलक्ष्मी बचत तथा ऋण सहकारी संस्थाका बचतकर्ताका तर्फबाट बहस गरेका थिए ।
सोही सहकारी ठगीको कसुरमा रास्वपा सभापति रवि लामिछानेको थुनछेक बहस सकिएर आदेश आउलै लाग्दा त्रिपाठीमाथि हातपात भएको हो ।
कार्यबाहक प्रवक्ता झाले यस किसिमको व्यवहार कानूनी शासन, सृदृढ राजनीतिक अभ्यास र न्यायप्रति विश्वास राख्ने राजनीतिक दलका लागि कदापी स्वीकार्य नहुने बताए ।
उक्त प्रकरणबारे रास्वपाको सम्बन्धित अनुसन्धान आयोगको समेत ध्यानाकर्षण भएको र घटनामा पार्टीका कुनै पनि सदस्यको संलग्नता भेटिए विधान बमोजिम कारबाही हुने उनको भनाइ छ ।
दोषी जो भए पनि निजमाथि कानून बमोजिम कारबाहीका लागि रास्वपाले सम्बन्धित निकायको ध्यानाकर्षण गराएको छ ।