भूमि अध्यादेश जारी भएपछि बालेनः टुँडिखेल र खुलामञ्च कार्यकर्तालाई बाँड्ने अध्यादेश जारी भएछ

काठमाण्डु टुडे २०८१ माघ २ गते १८:५५ मा प्रकाशित

काठमाण्डू, २ माघ– काठमाण्डू महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन) ले राष्ट्रपतिबाट भूमिसम्बन्धी अध्यादेश जारी भएकामा आपत्ति जनाएका छन् ।

सामाजिक सञ्जाल फेसबुकमार्फत उनले सत्तारुढ दलले खोला मात्र नभई टुँडिखेल र खुलामञ्च पनि आफ्ना कार्यकर्तालाई दिने उद्देश्यसहित अध्यादेश ल्याएको आरोप बालेनले लगाएका छन् ।

प्रधानमन्त्री केपी ओली र काँग्रेस सभापति शेरबहादुर देउवाले खुसी मुद्रामा हात मिलाइरहेको तस्बिर पोष्ट गर्दै बालेनले लेखेका छन्, ‘अब खोला मात्र होइन, टुँडिखेल, खुल्लामन्च पनि आफ्नो कार्यकर्तालाई दिने अध्यादेश पास भएछ । बधाई छ सरकारमा रहेका कार्यकर्ताहरुलाई’ ।
राष्ट्रपति रामचन्द्र पौडेलले बुधबार भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश-२०८१ जारी गरेका हुन् ।

सरकारले गत २७ पुसमा विभिन्न ५ अध्यादेश सिफारिस गरेको थियो । जसमध्ये राष्ट्रपतिले भूमिसम्बन्धीबाहेक अन्य अध्यादेश जारी गरिसकेका थिए ।

श्रोतका अनुसार सरकारले सार्वजनिक जमिन अपडेर बसेकाहरुलाई जमिन उपलब्ध गराउने उद्देश्यसहित अध्यादेश ल्याएको हो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us