चरिकोट, १५ भदौ– दोलखाको चरिकोटस्थित सामुदायिक अस्पतालमा सुत्केरीको मृत्यु भएको विरोधमा आफन्तले प्रदर्शन र तोडफोड गरेपछि त्यस क्षेत्रको वातावरण तनावपूर्ण बनेको छ ।
मृतकका आफन्तले अस्पतालको झ्यालका सिसा फुटाउनुको साथै आकस्मिक सहित सबै सेवा ठप्प पारेका छन् । उनीहरुले एम्बुलेन्ससहित मृतकको शव तेस्र्याएर पुष्पलाल राजमार्ग अवरुद्ध गरेका छन् ।
रामेछाप प्रिती गाविसकी हितमाया श्रेष्ठको सुत्केरी गराउने क्रममा मृत्यु भएपछि आफन्त विरोधमा उत्रिएका हुन् । आफन्तले चिकित्सकको लापरबाहीले उनको ज्यान गएको आरोप लगाएका छन् ।
गएराति १० बजे शल्यक्रिया गरी बच्चा निकालिएकामा बिहान ४ बजे उनी अचेत भएकी थिइन् । उनलाई उपचारका लागि काठमाण्डु ल्याउने क्रममा आज बिहान बाटैमा मृत्यु भएको थियो ।
नवजात शिशुको अवस्था सामान्य छ । उनलाई स्थानीय प्राथमिक स्वास्थ्यचौकीमा उपचार भइरहेकाे छ । यसैबीच पीडित परिवारको दबाबपछि प्रहरीले अस्पताल सञ्चालक अमृत बुढाथोकी र एक चिकित्सलाई नियन्त्रणमा लिएर सोधपुछ थालेको छ ।