काठमाण्डू, २६ पुस– राप्रपा नेपालका अध्यक्ष कमल थापाले प्रधानमन्त्री केपी ओलीलाई भेटेका छन् ।
ओली भेट्न थापा शुक्रबार बिहान प्रधानमन्त्री निवास बालुवाटार पुगेका थिए । भेटमा मुलुकको पछिल्लो राजनीतिक परिस्थितिबारे कुराकानी भएको थापाले बताए ।
थापाको सचिवालयका अुनसार प्रधानमन्त्री ओलीले संविधान संसोधन गर्न सरकार प्रतिबद्ध रहेको बताएका थिए ।
ओलीले हालै सम्पन्न एमाले केन्द्रीय समिति बैठकमा ०८७ मा मात्र संविधान संशोधन सम्भव रहेको अभिव्यक्ति दिएपछि राष्ट्रिय राजनीति गर्माएको छ ।
कतिपय राजनीतिक दलहरुको विरोध रहेको र सहमति कायम गर्न समय लाग्ने भएकाले संविधान संशोधन पछाडि धकेलिन सकिने प्रष्टीकरण ओलीले थापालाई दिए ।
थापाको सचिवालयले देश गम्भीर संकटमा रहेकोबारे ओलीलाई ध्यानाकर्षण गराइएको बताएको छ । भेटमा राप्रपाको सम्भावित एकताबारे समेत कुराकानी भएको बुझिएको छ ।
ओलीले फुटेर भन्दा जुटेर अघि बढ्न थापालाई सुझाए । थापाअघि राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनले ओलीलाई भेटेका थिए ।
लिङदेन र थापा दुवै ओलीका विश्वास पात्र हुन् ।
ओलीले दुई वर्षअघि सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा थापालाई एमाले चुनाव चिन्हबाट मकवानपुर–२ मा उम्मेदवार बनाएका थिए । तर, थापा राप्रपाका दीपक विष्टसँग पराजित भए ।
लिदेनलाई उनले ०७४ र ०७९ गरी दुई निर्वाचनमा झापा–२ बाट प्रतिनिधिसभा सदस्य जिताए ।