हिरासत मुक्त भए रवि लामिछाने

काठमाण्डु टुडे २०८१ पुष २५ गते २०:४० मा प्रकाशित

काठमाण्डू, २५ पुस–राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने कास्की जिल्ला अदालतले तोकेको धरौटी बुझाएर रिहा भएका छन् ।

पक्राउ परेको ८४ दिनपछि लामिछाने बिहीबार साँझ कास्की प्रहरीको हिरासतबाट मुक्त भएका हुन् ।

पोखरास्थित सूर्यदर्शन सहकारीको रकम ठगी गरेको आरोपमा उनलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआईबी) ले गत २ कात्तिकमा वनस्थलीस्थित रास्वपा केन्द्रीय कार्यालयबाट पक्राउ गरी सोही राति पोखरा लगेको थियो ।

लामिछानेलाई सहकारी ठगी कसुरमा ५६ लाख धरौटीमा रिहा गर्न कास्की जिल्ला अदालतका न्यायाधिश निजित राईको इजलासले बिहीबारै आदेश दिएको थियो ।
लामिछानेले बैंक ग्यारेण्टीमार्फत धरौटी बुझाएको अदालतका सूचना अधिकारी सुरज अधिकारीले जानकारी दिए । गोर्खा मिडिया नेटवर्कका तत्कालीन उपाध्यक्ष छविलाल जोशी र रामबहादुर खनाल पनि धरौटी बुझाएर रिहा भएका छन् ।

लामिछानेलाई ६५ लाख, जोशीलाई ८८ लाख र खनाललाई १५ लाख धरौटीमा रिहा गर्न अदालतले आदेश दिएको थियो ।

सूर्यदर्शन सहकारीका सञ्चालक समिति सदस्य कृष्ण गुरुङ १ लाख, पूर्वउपाध्यक्ष मीना गुरुङ र पूर्वकोषाध्यक्ष आरती गुरुङ जनही ५ लाख धरौटी बुझाएर यसअघि नै रिहा भइसकेका छन् ।

अदालतले ७ जनालाई धरौटीमा छाड्न आदेश दिएकामा लीला पछाईले भने धरौटी बुझाउन सकेका छैनन् । उनीसँग ३७ लाख धरौटी माग गरिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us