अदालतको आदेशबारे रास्वपाको प्रतिक्रियाः देशमा न्याय मरेको रहेनछ

काठमाण्डु टुडे २०८१ पुष २५ गते १९:२४ मा प्रकाशित

काठमाण्डु, २५ पुस– सभापति रवि लामिछानेलाई कास्की जिल्ला अदालतले धरौटीमा छाड्न आदेश दिएपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले त्यसको स्वागत गरेको छ ।

रास्वप सह-महामन्त्री एवं कार्यबाहक प्रवक्ता मनिश झाले अदालतको आदेश स्वागतयोग्य रहेको प्रतिक्रिया दिए । ‘हामी अदालतको आदेशलाई अत्यन्तै सम्मान गर्छौं’, पोखरामा रहेका झाले काठमाण्डुटुडेसँग भने, ‘देशमा न्याय अझै जीवित छ भन्ने पुष्टि भएको छ ।’ अदालतको आदेशपछि न्यायालयमाथिको आफूहरुको विश्वास बढेर गएको उनको भनाइ थियो ।

राज्यले सम्पूर्ण शक्ति लगाएर लामिछानेलाई सहकारी गठ प्रमाणित गर्न खोजे पनि अदालतले अस्वीकार गरेको तर्क झाले गरे । ‘राज्यले हाम्रो सभापतिलाई सहकारी ठग करार गर्न सम्पूर्ण शक्ति खर्चिएको थियो’, उनले भने, ‘सम्मानित अदालतले राज्य सञ्चालकहरुको चाहनाविपरीत न्याय दिने काम गरेको छ ।’

झाले पूर्ण रुपमा न्याय पाउन बाँकी रहे पनि न्याय पाउने प्रक्रियाको प्रस्थान बिन्दुका रुपमा आफूहरुले आदेशलाई लिएको उनले बताए ।

जिल्ला अदालत, कास्कीका न्यायाधीश नीतिज राईको एकल इजलासले बिहीबार लामिछानेलाई ६५ लाख धरौटीमा छाड्न आदेश दिएको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us