काठमाण्डू, २५ पुस– प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आगमन गेटबाट सुनसहित दुई युवतीलाई पक्राउ गरेको छ । भन्सार छली गरी लुकाई छिपाई लैजान लागेको १४९. ११ ग्राम सुनसहित २ जनालाई बुधबार दिउँसो पक्राउ गरीएको प्रहरीले जानकारी दिएको छ ।
पक्राउ पर्नेहरूमा झापाको कनकाई नगरपालिका–११ घर भएकी ३६ वर्षीया पुष्पा माले र सिन्धुपाल्चोक बाह्रविसे नगरपालिका–१ घर भएकी ३२ वर्षीया फुर्पा लामु तामाङ रहेको प्रहरीले जानकारी दिएको छ ।
नेपाल एयरलाइन्सको उडानद्वारा दोहाबाट काठमाण्डु आएकी पुष्पालाई ६७.५१ ग्राम र फुर्पालाई ८१.६० ग्राम सुनसहित प्रहरीले पक्राउ गरेको हो । उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि त्रिभुवन विमानस्थल भन्सार कार्यालय सिनामंगल पठाइएको पनि प्रहरीले जानकारी दिएको छ ।