अस्ट्रेलियामा अपार्टमेन्टको सातौँ तलाबाट खसेर नेपाली नर्सको मृत्यु

काठमाण्डु टुडे २०८१ पुष २५ गते १३:०६ मा प्रकाशित

काठमाण्डू, २५ पुस– अस्ट्रेलियामा एक अपार्टमेन्टको सातौँ तलाबाट खसेर एक जना नेपाली नर्सको मृत्यु भएको छ । अपार्टमेन्टको सातौँ तलाबाट खसेर ३९ वर्षकी दीक्षा दाहालको मृत्यु भएको समाचारमा उल्लेख गरीएको छ ।

दीक्षा पश्चिम सिड्नीमा रहेको पारामट्टा अपार्टमेन्टको सातौँ तलाबाट खसेकी थिइन् । यो घटना गएको बिहीबार राति १ः ४५ तिरको भएको बताइएको छ । प्रहरीले उनको घटनास्थलमै मृत्यु भएको जानकारी दिएको छ ।

दीक्षाले केहीअघि मात्रै नेपालमा आएर ४० वर्षका लबिन्द्र सुवेदीसँग बिहे गरेकी थिइन् । नव विवाहित पत्नीको निधनले ज्वाइँ निकै दुखित भएको दीक्षाका दाजुले द डेली टेलिग्राफलाई बताएका छन् । यो घटनाको दुई घन्टा अघि दीक्षाको फ्लाटबाट आकस्मिक नम्बरमा फोन गएको थियो । फोनमा केही नबुझेपछि आकस्मिक सेवाले पछि फोन फर्काएको थियो ।

सो फोन एक पुरुषले उठाएका थिए भने फोन उठाउने व्यक्ति लबिन्द्र भएको ठानिएको छ । फोन दीक्षाले किन गरेको भन्ने खुलेको छैन । तर त्यसको केही समयमा एक जना प्रत्यक्षदर्शीले अपार्टमेन्टको बाल्कोनीमा उनी झुन्डिरहेको देखेपछि मद्दतका लागि ट्रिपल जिरोमा फोन गरेका थिए । फोन गरेको एक मिनेटमै प्रहरी पुगे । तर उनीहरू आउँदासम्म दीक्षा बाल्कोनीबाट खसिसकेकी थिइन् ।

प्रहरीले लबिन्द्रका साथै अपार्टमेन्टका अन्य बासिन्दासँग सोधपुछ गरिरहेको छ। झगडा भएपछि दीक्षा बाल्कोनीमा गएकी थिइन् कि भन्ने तरिकाले पनि घटनालाई हेरिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us