केपी ओली ब्याक गेयरमा हिंड्न खोजेको काँगेस महामन्त्रीको आरोप

काठमाण्डु टुडे २०८१ पुष २४ गते २०:२९ मा प्रकाशित

झापा, २४ पुस-कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले प्रधानमन्त्री केपी शर्मा ओलीले २०८७ सालमा संविधान संशोधन हुन्छ भन्ने अभिव्यक्ति दिएकोमा विमति जनाएका छन्।

मंगलबार एमाले केन्द्रीय कमिटीमा बोल्दै अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीले २०८७ सालमा दुई तिहाइसहित संविधान संशोधन गरिने बताएका थिए ।

यो भनाइमा सत्ताघटक प्रमुख दल नेपाली कांग्रेसका महामन्त्री शर्माले विमति जनाएका हुन् । झापाको कचनकवलमा बुधबार भएको कार्यक्रममा बोल्दै महामन्त्री शर्माले प्रधानमन्त्री ओलीको २०८७ सालमा मात्रै संविधान संशोधन हुन्छ भन्ने भनाइप्रति विमति राखेका हुन्।

‘संविधान संशोधनको ढोका खोल्ने परामर्श भएको छ । सात बुँदे समझदारीमा त्यो लेखिएको छ । संविधान संशोधन गरिरहँदा के हो नागरिकको अपेक्षा, के हो पार्टीका साथीहरूको अपेक्षा, गाउँगाउँको अपेक्षा के हो भन्ने विषयलाई अध्ययन गरेर ल्याउनुपर्छ,’ उनले भने, ‘प्रधानमन्त्रीज्यूले भन्नुभएको मैले सुनेँ यदि उहाँले एमालेको बैठक हुँदै गर्दा भन्नुभएको संविधान संशोधन २०८७ मा हुन्छ भनेर भन्ने हो भने त्यसमा म विनम्रतापूर्वक उहाँकै जिल्लाबाट गम्भीरतापूर्वक विमति राख्न चाहन्छु ।’

उनले असार १७ गते कांग्रेस र एमालेबीच सात बुँदे समझदारी हुँदा संविधान संशोधनको आवश्यकताको जगमा यसलाई पुनः मूल्यांकन गरेर संशोधन गर्ने भनिएको पनि बताए ।

‘संविधान संशेधन गर्न निश्चय नै राष्ट्रिय सभामा माओवादीको सहभागिता भएन भने दुई तिहाईको गणित पुग्दैन । हामीले संविधान संशोधन गर्नका लागि गणितीय रूपमा पुग्दैन भनेर ब्याक गेयर लगाउने अवस्थामा हामी छैनौं प्रधानमन्त्रीज्यू,’ उनले भने, ‘प्रधानमन्त्रीज्यूले, हाम्रो पार्टीको सभापतिज्यूले हामी दुई मुख्य दलले सरकारमा रहेको बेला हामी मात्रै संविधान संशोधन गरेर जान्छौँ भनेर हामीले घोषणा गरेको होइन ।’

महामन्त्री शर्माले सबै राजनीतिक दलहरूलाई विश्वासमा लिएर संविधान संशोधन गर्न जरूरी रहेको बताए । ०८७ मै संविधान संशोधन गर्ने भए पनि कांग्रेस र एमालेको छलफलपछि मात्रै भन्न पाइने उनको भनाइ छ । ‘बिना छलफल ०८७ मा संविधान संशोधन गर्छौं भन्ने हक एमाले अध्यक्षलाई छैन,’ उनले भने।

न्युज एजेन्सी नेपाल

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us