काठमाण्डू, २३ पुस– सर्वेच्च अदालतले नेपाल बार एसोसिएसन एसोसिएसनका अध्यक्ष गोपालकृष्ण घिमिरेविरुद्धको अदालतको अवहेलना मुद्दामा प्रमाण झिकाउन आदेश दिएको छ ।
आज मंगलबार न्यायाधीशद्वय नहकुल सुवेदी र अब्दुल अजिज मुसलमानको इजलासले अडियो र भिडियोलगायत सामग्री मगाउन आदेश जारी गरेको हो । सर्वोच्चका तत्कालीन उपरजिष्ट्रार गोविन्द घिमिरेले अवहेलना निवेदन दर्ता गराएका हुन् ।
गत कात्तिक २ मा दर्ता भएको निवेदनमाथि न्यायाधीश कुमार रेग्मी र कुमार चुडालको इजलासले सुनुवाइ गर्दै सात दिनभित्र अध्यक्ष घिमिरेलाई आफैँ वा आफ्नो वारेसमार्फत लिखित जवाफ बुझाउन भनेको थियो । जवाफ पेस भएपछि ३ पुसमा पेसी चढे पनि हेर्न नभ्याइनेमा परेको थियो भने आज प्रमाण झिकाउने आदेश भएको हो ।
अध्यक्ष घिमिरेले गत ११ असोजमा नेपाल बारले न्यायपरिषद् नियमावलीमा संवैधानिक प्रश्न उठाउँदै तत्कालीन प्रधानन्यायाधीश विश्वम्भर श्रेष्ठको विषयमा टिप्पणी गरेका थिए ।
घिमिरेको टिप्पणीले अदालतप्रतिको जनादर घटाउने भन्दै मानहानीको निवेदन परेको थियो । न्यायपरिषद्ले मुख्य रजिष्ट्रार उच्च अदालतको न्यायाधीश नियुक्ति हुँदा मुख्य न्यायाधीशपछिको वरीयतामा र रजिष्ट्रार न्यायाधीश नियुक्त हुँदा एउटै पदमा हुँदा न्यायाधीशमा गएका भन्दा अगाडिको वरीयता हुने व्यवस्था गरेपछि बारले संवैधानिक प्रश्न उठाएको हो ।