शीर्ष नेता संघीयताप्रति उदार बन्न सकेनन्ः महामन्त्री थापा

काठमाण्डु टुडे २०८१ पुष २३ गते १४:५६ मा प्रकाशित

काठमाण्डू, २३ पुस– कांग्रेस महामन्त्री गगन थापाले सरकारको नेतृत्व गर्ने राजनीतिक दलका शीर्ष नेताहरू संघीयताप्रति उदार बन्न नसकेको दाबी गरेका छन । आज (मंगलबार) ललितपुरमा संघीयता सबलीकरणको कसीमा प्रदेशका सवालहरु विषयक अन्तर्क्रिया कार्यक्रममा महामन्त्री थापाले यस्तो बताएका हुन ।

उनले भने, ‘शासकीय जिम्मेवारी लिने राजनीतिक दलका नेताहरू संघीयताप्रति उदार हुन नसक्दा अहिलेको परिणाम आएको हो ,हामी राजनीतिक दलका नेताहरू जसले यो शासकीय जिम्मेवारी लिन्छौं, हामी कोही पनि संघीयताप्रति उदार छैनौं ।

हामी एकदमै अनुदार छौं’ उनले भने, ‘हाम्रो यसमा रुची छैन । हामी यसलाई यसैबाट अघि बढाउँछौं भन्ने छैन ।’महामन्त्री थापाले शीर्ष नेताहरू संघीयताप्रति अनुदार हुँदा विकासका कामहरू हुन नसक्ने बताए । नयाँ र क्षेत्रीय दलहरूसँग सरकारमा सहकार्य गर्दा पनि उनीहरूले पनि अडान राख्न नसकेको उनले बताए । ‘मैले नयाँ दल पनि हेरेँ । मैले यो क्षेत्रीय दलहरु पनि हेरेँ ।

सँगै सरकारमा पनि बस्यौँ । जसले बाहिर जे–जे भने पनि भित्र सरकार चलाउने बेला कसैले पनि शर्त राख्दैन,’ उनले भने, ‘संघीय निजामती विधेयकमा, संघीय प्रहरी विधेयक र प्रहरी विधेयक पारित नहुने भए म सरकारबाट बाहिरिन्छु भनेर मैले आजसम्म कसैले भनेको सुनेको छैन ।’

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us