काठमाण्डु, २१ पुस– नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले उपनिर्वाचन परिणामलाई लिएर प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) ले भ्रामक सन्देश सम्प्रेषण गर्ने प्रयास गरिरहेको बताएका छन् । केन्द्रीय कमिटीको आठौँ बैठकमा प्रस्तुत राजनीतिक प्रतिवेदनमा अध्यक्ष ओलीले माओवादीले आफ्नो दल पहिलो भएको र लोकप्रिय मत ह्वात्तै बढेको भन्दै भ्रम फैलाएको आरोप लगाएका हुन् ।
अध्यक्ष ओलीद्धारा प्रस्तुत गरीएको प्रतिवेदनमा भनिएको छ, ‘माओवादी केन्द्रले ८ बाट बढाएर ११ स्थानमा विजय हासिल गरेको सत्य हो, तर हिजो ६ दलीय गठबन्धनका बेला आफूले उम्मेदवार नै नउठाएको र त्यसै कारण शून्य मत भएको ठाउँमा अहिले प्राप्त भएको मत जोड्दा मात्र उसको मत बढेको देखिएको हो ।’
मङ्सिर १६ गते स्थानीय तहमा रिक्त ४२ स्थान ९थप दुई जिल्ला समन्वय समिति समेत० मा उपनिर्वाचन सम्पन्न भएको थियो । ७७ जिल्ला समन्वय समिति र ७५३ पालिकाका कुल ८, ४०३ जनप्रतिनिधिमध्ये ४४ पदमा भएको र कुल २,२६,७९९ मतदाता (१.२६ प्रतिशत) ले मतदान गरेको यस निर्वाचनले राजनीतिक शक्ति सन्तुलन र भविष्यको निर्वाचनको ठुलो पूर्वानुमान नगर्ने ओलीको ठहर छ ।
तर पनि २०७९ को तुलनामा सम्बन्धित ठाउँमा मतदाताहरूको बदलिँदो रुझान, जनप्रतिनिधिप्रतिको असन्तुष्टि र नयाँ भनिने दल र राजावादी शक्तिहरूको खस्किँदो अवस्थालाई बुझ्न भने यसले केही आधार दिने उनको बुझाइ छ ।सो उपनिर्वाचनमा एमालेले एक गाउँपालिका अध्यक्ष, दुई उपाध्यक्ष र ५ वडा अध्यक्ष सहित ८ स्थान मा जीत हासिल गरेको थियो ।
‘हामीले जितेका ७ वटा वडा रिक्त भएको अवस्थामा गाउँपालिका अध्यक्ष र उपाध्यक्ष समेत समग्रमा ८ स्थानमा हासिल गरेको विजय थप हाम्रा लागि उपलब्धिपूर्ण र सकारात्मक परिणाम हो । यद्यपि, हामीले गरेको अपेक्षाभन्दा यो कम हो,’ ओलीले स्वीकार गरेका छन् ।
आफूले विजय हासिल गरेका ठाउँमा पार्टी र जनप्रतिनिधिहरूले थप मिहिनेत गर्नु पर्ने र सहरिया मतदातामाझ नेकपा एमालेले अझै मेहनत गर्नु पर्ने शिक्षा यस निर्वाचनबाट प्राप्त भएको ओलीको भनाई छ । प्रतिवेदनमा भनिएको छ, ‘विगतमा जितेका वडामध्ये एउटामा मात्र विजय कायम हुनु ९यद्यपि यो प्रवृत्ति अन्य दलको हकमा पनि उत्तिकै देखिएको छ०, कीर्तिपुर जस्तो ठाउँमा अपेक्षित परिणाम हासिल नहुनु र सहरिया जनमतमा अपेक्षित आकर्षण बढ्न नसक्नुलाई हामीले गम्भीरतापूर्वक लिनुपर्छ ।’
गएको २०८१ वैशाख १५ मा इलाम प्रतिनिधिसभा निर्वाचन क्षेत्र९२ र बझाङ प्रदेशसभा९१ मा उपनिर्वाचन सम्पन्न भएको थियो । उक्त उपनिर्वाचनमा नेकपा एमालेले इलाममा निकै फराकिलो मतान्तरसहित (२०७९ मा १०८ मतको तुलनामा ७,५०० मतले) विजय कायम राख्न सफल भयो भने बझाङमा पनि विजय हासिल गर्न सफल भयो ।
राष्ट्रिय राजनीतिमा व्याप्त प्रतिकूलताका बिच नेकपा (एमाले) लाई प्राप्त यस सफलताले पार्टी पङ्क्तिको मनोबल माथि उठाउन निकै मद्दत पुग्यो भने विभिन्न जातिवादी समूह, कथित नयाँ शक्ति र पश्चगामीहरूको हैसियत पनि स्पष्ट पाएको ओलीको भनाई छ ।