कांग्रेसले ‘स्थानीय तह समन्वय तथा सहजीकरण संयन्त्र’ बनाउने

काठमाण्डु टुडे २०८१ पुष २१ गते १३:३५ मा प्रकाशित

काठमाण्डु, २१ पुस– सत्ता घटक दल कांग्रेसले स्थानीय तहमा जितेका स्थानमा पार्टी र जनप्रतिनिधिको संयन्त्र बनाउने तयारी गरेको छ । पार्टीबाट जितेर गएका व्यक्तिको अन्तरसम्बन्ध टुट्टै गएको चिन्ता पार्टीमा उठ्न थालेपछि संयन्त्र बनाउन लागिएको कांग्रेस स्रोतले जानकारी दिएको छ ।

संयन्त्रलाई ‘स्थानीय तह समन्वय तथा सहजीकरण संयन्त्र’ नाम दिइएको छ । १६ माघ भित्र कांग्रेसले जितेका पालिकामा संयन्त्र बनाउने महामन्त्री गगन थापाले जानकारी गराए । संयन्त्रमा निर्वाचित जनप्रतिनिधि र पालिकाको पार्टी संरचनाबाट ३–३ र अन्य थप दुई गरी आठ सदस्यीय संयन्त्र हुने उनले जानकारी दिएका छन ।

संयन्त्रमा रहने थप दुई जनामा विज्ञ, अभिभावकीय भूमिका खेल्नसक्ने व्यक्तिबाट छनोट गरिने भएको छ। संयन्त्रको बैठक प्रत्येक २–२ महिनामा बस्नुपर्दछ । जनप्रतिनिधि र पार्टीको स्थानीय संरचनासँग सल्लाह र संवाद हुन नसकेको कारणले संयन्त्र बनाउन लागिएको महामन्त्री थापाले शनिबार पोखरामा बताए।

‘हाम्रो बीचमा संवाद भइरहेको छैन । हामी सँगै बस्न पर्यो । एक अर्काको कुरा सुन्न पर्यो,’ थापाले भने । कांग्रेसको बैठकहरुमा जितेकाले पार्टीसँग समन्वय नगरेको गुनासो बेला बेला उठाउँदै आएका छन् ।

जनप्रतिनिधि र पार्टी संरचनाको समन्वय गर्नका लागि संयन्त्र बनाउन लागिएको स्थानीय तह समन्वय विभागका प्रमुख मधु आचार्यले जानकारी गराए । ‘जन चासो, जनगुनासोका सवालमाथि छलफल हुन्छ ।

जनप्रतिनिधिहरुले आफूले गरेको कार्यको जानकारी गराउँछन् । जनप्रतिनिधिको भूमिका अझ प्रभावकारी बनाउन पार्टीले सल्लाह सुझाव र सहयोग गर्छ,’ आचार्यले भने ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us