सहकारीलाई व्यवस्थित गर्न सरकार क्रियाशील छः सञ्चारमन्त्री गुरुङ

काठमाण्डु टुडे २०८१ पुष २० गते १६:२४ मा प्रकाशित

काठमाण्डु, २० पुस– नेपाल सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचनाप्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले केही सहकारी संस्थाका कारण समग्र सहकारी क्षेत्र नै बदनाम भइरहेको उल्लेख गर्दै सहकारीलाई व्यवस्थित गर्न सरकार क्रियाशील रहेको बताएका छन ।

आज शनिबार दिगो पर्यटन सहकारी संस्थाद्वारा आयोजित १४औँ साधारणसभामा मन्त्री गुरुङले यस्तो बताएका हुन ।

उनले सहकारीहरूलाई व्यवस्थित ढङ्गले सञ्चालन गर्न हालै सहकारीसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको अध्यादेश जारी भएको पनि बताएका छन ।

उनले सहकारीलाई नियमन गर्न बचत तथा ऋणको कारोबार गर्ने सहकारी संस्थालाई पारदर्शी एवं प्रभावकारी बनाउन राष्ट्रिय सहकारी नियमन प्राधिकरण गठन गर्ने व्यवस्था समेत अध्यादेशमा भएको पनि बताएका छन ।

सरकारका प्रवक्ता समेत रहेका मन्त्री गुरुङले अब एक व्यक्ति एकै प्रकृतिका एकभन्दा बढी सहकारी संस्थामा सदस्य बन्न नपाउने, बचत तथा ऋण कारोबारको सूचना कर्जा सूचना केन्द्रलाई अनिवार्य रूपमा उपलब्ध गराउनुपर्ने, व्यक्तिगत बचत तथा ऋणको सीमा निर्धारण एवं कार्यक्षेत्र तोकिएको पनि बताएका छन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us