काठमाण्डु, १९ पुस– आज शुक्रबार पूर्व मन्त्री एवं एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेको आमा, सपना र ताराहरू पुस्तक विमोचना भएको छ। आज काठमाण्डुको नेपाल प्रज्ञा प्रतिष्ठानमा लेखक पोखरेल, पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी, एमाले उपमहासचिव प्रदीप ज्ञवाली, नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मालगायतले पुस्तक संयुक्त रूपमा लोकार्पण गरे ।
लेखक पोखरेलले पुस्तकमा नामजस्तै आमा र सपनाका कुराहरू समेटिएको बताए। एमाले उपाध्यक्ष ईश्वर पोखरेलद्वारा लिखित पुस्तक लोकार्पण कार्यक्रममा पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली भने देखिएनन् ।
तर, पार्टीका पूर्वउपाध्यक्षसमेत रहेकी पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी भने प्रमुख अतिथि थिइन्। पुस्तकमाथि आफ्नो धारणा राख्दै कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले पूर्वराष्ट्रपति भण्डारीलाई सक्रिय राजनीतिमा नआई सामाजिक नायक बनेर बस्न सुझाए ।
जवाफमा भण्डारीले केही बोलिनन्। तर, के भनिन्छ भने उनले पुनस् सक्रिय पार्टी राजनीतिमा फर्किन चाहेकी छन्। राष्ट्रपति निर्वाचित भएपछि त्यागेको पार्टी सदस्यता उनले गत वैशाखमा आफ्नो प्रतिनिधिमार्फत नवीकरण गरिसकेकी छन् ।
यसअघि बिहीबार मात्रै भण्डारी र एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीबीच चपली हाइटमा अढाइ घण्टा संवाद भयो। त्यसबीचमा संवाद भएको विषय आधिकारिक रूपमा बाहिरिएको छैन।
तर, पूर्वराष्ट्रपति भण्डारीलाई ‘आमा, सपना र ताराहरू’का लेखक एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेललगायतले भने सक्रिय राजनीतिमा आउनका लागि उक्साइरहेका छन् भनिन्छ। यस्तो बेलामा उनको पुस्तक लोकार्पण कार्यक्रममा ओली नदेखिनु र भण्डारी मात्रै हुनुलाई अर्थपूर्ण रूपमा हेरिएको छ।