संसद् बोलाउन आनाकानी गर्नुमा सरकारको बदनियत देखिन्छः माओवादी केन्द्र

काठमाण्डु टुडे २०८१ पुष १९ गते १५:४३ मा प्रकाशित

काठमाण्डु, १९ पुस– प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रले सरकारलाई संसद् बैठक बोलाउन दबाब सिर्जना गर्ने बताएको छ ।

आज (शुक्रबार) माओवादी केन्द्रको मुख्यालय पेरिसडाँडामा बसेको स्थायी समिति बैठकपछि सञ्चारकर्मीसँग बोल्दै पूर्वसभामुख समेत रहेका माओवादी उपाध्यक्ष अग्नि प्रसाद सापकोटाले यस्तो बताएका हुन ।

उनले संसद् बैठक बोलाउन आनाकानी गर्नुमा सरकारको बदनियत हुनसक्ने शंका आफूहरूले गरेको बताएका छन ।

माओवादी केन्द्रको प्रवक्ता समेत रहेका सापकोटाले भने, ‘यो सरकारको गतिविधि हेर्दा संसद् बोलाउन आनाकानी गर्ने अर्थात् बोलाउन ढिला गर्ने भएको छ । यी सबैले लोकतन्त्रमाथि नै गम्भीर समस्या पैदा हुँदैछ ।

लोकतन्त्रको आत्मा भनेको संसद् हो, ‘संसद् नै नबोलाएपछि लोकतन्त्र फस्टाउँदैछ । कमसेकम बैठक त समयमा बोलाउनुपर्यो ।

बैठक पनि समयमा नबोलाउने भएपछि यो भन्दा गम्भीर कुरा अरु हुन सक्दैन ।’उनका अनुसार अब सबै दलहरूसँग छलफल गरेर संसद् आह्वानका लागि प्रभावकारी रुपमा दबाब चलाउनेगरी माओवादीले सोच बनाएको छ ।

उनले थपे, ‘अब हामी सबै पार्टीसित पनि छलफल चलाउँछौं । प्रभावकारी दबाब सिर्जना गर्छौं, ‘समयमै नबोलाउनुमा केही बदनियत छ कि जस्तो हामीलाई लागिरहेको छ ।’

माओवादी स्थायी समिति बैठक भोलि दिउँसो २ बजे बस्नेगरी स्थगित भएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us