काठमाण्डु, १९ पुस– सत्ता घटक दल एमालेका प्रमुख सचेतक महेशकुमार बर्तौलाले समाजलाई विभाजित हुने किसिमका अभिव्यक्तिहरु राजनीतिक नेतृत्वले दिनु नहुने बताएका छन । आज शुक्रबार काठमाण्डुमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै एमाले सांसद बर्ताैलाले यस्तो बताएका हुन ।
उनले नेताहरुको अभिव्यक्ति, व्यवहार र कार्यशैली समाजलाई विभाजित गर्ने परिस्थितितर्फ उन्मुख भएको पनि बताएका छन । उनले राजनीतिक नेतृत्वले समाजमा जहिले पनि सकारात्मक सन्देश संप्रेषण गर्न जरुरी रहेको बताए ।
पूर्व प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डप्रति लक्षित गर्दै उनले भविष्यमा कतै भेटै नहुनेगरी अभिव्यक्ति नदिन आग्रह गरे । उनले भने पदहरु अस्थायी रहेकाले सहिष्णुता कायम गर्ने र मुलुक र जनतालाई केन्द्रमा राखेर अघि बढ्ने कुरा नै स्थायी हुने उल्लेख गरे ।
उनले भने, ‘संसदीय राजनीतिमा हामी भर्खर नर्सरीका विद्यार्थी हौँ । यसो अहिले हेर्दा कहिले लाग्छ, सम्माननीय पूर्वप्रधानमन्त्रीज्यु यहीँ हुनुहुन्छ । हामीलाई यसो लाग्छ, कहिले कहीँ नेताहरुको अभिव्यक्ति, नेताहरुले गरेका व्यवहार, कार्यशैलीहरुले समाजलाई कताकता विभाजित गर्ने परिस्थिति विकास हुन खोजेको हो की भन्ने पनि लाग्छ ।’