तरुणदल लमजुङका अध्यक्ष गुरुङ ७ महिनादेखि फरार

काठमाण्डु टुडे २०८१ पुष १९ गते १२:२६ मा प्रकाशित

काठमाण्डु, १९ पुस– नेपाली कांग्रेस निकट भातृसंगठन नेपाल तरुणदल लमजुङका अध्यक्ष ललित कुमार गुरुङ ७ महिनादेखि फरार छन् ।

उनीबिरुद्ध बैंकिङ कसुर मुद्दामा ललितपुर जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएपछि उनी फरार भएका हुन् । जिल्ला प्रहरी परिसर ललितपुरले उनीविरुद्धको अनुसन्धान पुरा गरेर अदालतमा मुद्दा दायर गरेको छ । २०८१ जेठबाट उनी फरार रहेको जिल्ला प्रहरी परिसर ललितपुरका एसपी शेखर खनालले जानकारी दिएका छन ।

उनले भने, ‘पक्राउ पुर्जी आएपछि हामीले जिप्रका कास्की र लमजुङलाई पत्राचार गरेका थियौँ, उहाँ प्रहरीको फरार सूचिमा हुनुहुन्छ ।’काठमाण्डुस्थित सूचना प्रविधिसम्बन्धी कम्पनी जेनेस सोलुशनले उनीविरुद्ध ललितपुर प्रहरीमा जाहेरी दिएको थियो ।

सो कम्पनीलाई आफ्नो जग्गा ‘बिक्री गर्छु’ भनेर उनले दुई करोड रुपैयाँ बैना लिएर अर्कैलाई जग्गा बेचेर ठगी गरेको आरोप छ । जेनेस सलुशनले पोखरा महानगरपालिका–१२ मा रहेको १३ आना जग्गा खरिद गर्न गुरुङलाई बैना दिएको हो । तर, जग्गा अर्कैलाई बेचेपछि उनले कम्पनीलाई एक करोड ६५ लाखको चेक दिएका थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us