काठमाण्डु, १८ पुस– एमालेले पूर्व उपाध्यक्ष समेत रहेका नेता डा. भीम रावललाई पार्टीबाट निष्कासन गरेको विषयमा नेकपा माओवादी केन्द्रले टिप्पणी गरेको छ ।
माओवादीले रावलमाथिको कारबाही र अन्य दुई नेतामाथिको ६ महिने निलम्बनलाई ‘एमालेको तानाशाही हर्कत ’ भएको बताएको छ ।
आज बिहीबार स्थायी समिति बैठक सकिएपछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै प्रवक्ता अग्निप्रसाद सापकोटाले एमालेले बोली बन्द गरेर तानाशाही शासन गर्न लागेको आरोप लगाएका हुन ।
कांग्रेस र एमालेको गठबन्धन सरकारबाट लोकतन्त्र करिबकरिब समाप्त भएको समेत उनले जिकिर गरे । उनले भने, ‘लोकतन्त्र करिबकरिब समाप्त भयो ।
एमालेमा छलफल बहस हुन्छ भनेर मानिसले बुझेका थिए । व्यापारीबाट दान दिएर पार्टी कार्यालय बनाउने विषयमा बोलेबापत भीम रावललाई पार्टीबाट निष्कासन नै गरिसक्यो ।
बिन्दा पाण्डे र उषा किरण तिम्सेनालाई निलम्बन गरियो, ‘वास्तवमा मुख थुनेर शासन गरिँदैछ । यो हदसम्मको निरंकुशता र यो हदसम्मको तानाशाहीकरण हर्कतले यो सरकार त जान्छ जान्छ । तर देश भयानक संकटको भुमरीमा पर्दैछ ।’