पिंगलास्थानमा युवती मृत्यु प्रकरणः मृतकको मोबाइलसमेत लिएर युवक फरार

काठमाण्डु टुडे २०८१ पुष १८ गते १६:३१ मा प्रकाशित

काठमाण्डु, १८ पुस– काठमाण्डु महानगरपालिका–९ गौशलाको पिंगलास्थानस्थित बागमती होटलमा मृत फेला परेकी युवतीको कोठामा रेडबुलको बट्टा फेला परेको छ ।

अन्य कुनै खानेकुराहरू नभेटिएकाले घटनाको प्रकृति हेर्दा ती युवतीले रेडबुल पिएको जस्तो देखिएको प्रहरी अधिकारीहरू जानकारी दिएका छन ।

शरीरमा कतै पनि घाउ चोट नलागेको अवस्थामा युवतीको शव बुधबार भेटिएको थियो । घटनास्थल मुचुल्का गर्ने क्रममा युवतीको मुखबाट फिज निस्किएजस्तो पदार्थ देखिएको अनुसन्धामा सहभागी प्रहरी अधिकारीले जानकारी दिएका छन । ‘कतै घाउचोट पनि नहुनु ।

बेडमै मृत भेटिनु र मुखबाट फिँजजस्तो पदार्थ देखिएकाले रेडबुलमा मिसाएर कुनै नसालु पदार्थ सेवन गरेरगराएर हत्या भएको हो कि भन्ने आशंका गरेका छौं,’ एक अनुसन्धान अधिकृत भन्छन्, ‘यद्यपि पोस्टमार्टम रिपोर्ट आउन बाँकी नै रहेकाले मृत्युको कारण यकिन हुन बाँकी नै छ ।’

बुधबार बागमती होटलको कोठा नम्बर ३०८ मा मृत भेटिएकी युवती नयाँ वर्षको अघिल्लो दिन उक्त होटलमा पुगेकी थिइन् । एक युवकसँगै होटलमा पुगेकी ती युवती भोलिपल्ट बुधबार मृत भेटिएकी हुन् । मृत भेटिएकी युवती कागेश्वर मनोहरा ठेगाना भएकी २१ वर्षीया सुस्मिता खड्का रहेको प्रहरीले जनाएको छ ।

उनी खुट्टामा जुत्ता लगाएकै अवस्थामा मृत भेटिएकी थिइन् । जसकारण युवती कोठाबाट बाहिर निस्कन लागेपछि उनी सँगै होटलमा आएका युवकले बाहिरबाट ताला लगाएर फरार भएको हुनसक्ने आशंका प्रहरीको छ ।

‘खुट्टामा जुत्ता लगाएकै अवस्थामा मृत भेटिएकाले उनी कोठाबाट बाहिरिने तरखरमा थिइन् कि भन्ने बुझ्न सकिन्छ । अब संदिग्ध व्यक्ति पक्राउ परेपछि मात्रै थप कुराहरू खुल्ला’ एक अनुसन्धान अधिकृतले भने ।

मंगलबार कोठामा बस्न आएका युवायुवती बाहिरबाट ढोकामा ताला लगाएर सम्पर्कविहीन भएको भन्दै बिहीबार होटल सञ्चालकले प्रहरीलाई खबर गरेका थिए ।

त्यसपछि स्थानीय जनप्रतिनिधिसहितको उपस्थितिमा बुधबार दिउँसो ताला फुटाएर हेर्दा युवतीको शव भेटिएको जिल्ला प्रहरी परिसर काठमाण्डुका एसपी तथा प्रवक्ता नवराज अधिकारीले जानकारी दिएका छन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us