काठमाण्डु, १८ मंसिर– भारत भ्रमणको क्रममा रहेका उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले बैतडीको झुलाघाट स्थित नेपाल–भारत सिमानदी महाकालीमा मोटरेवल पुल निर्माण कार्य अघि बढाउने विषयमा छलफल गरेका छन ।
उद्योगमन्त्री भण्डारीले भारतीय विदेश मन्त्री यश जयसंकर सँगको भेटमा पुल निर्माणको काम चाडै सुरुवात गर्न आग्रह गरेका छन ।
विदेश मन्त्री मन्त्री जय संकरले पुल निर्माणका विषयमा हालसम्म भएका उपलब्धिहरूको अध्ययन गरी थप प्रक्रिया द्रुत गतिमा अघि बढाउने विश्वास दिलाएको उनको सचिवालय स्रोतले जानकारी दिएको छ ।
मन्त्री भण्डारीको गृह जिल्ला समेत रहेको बैतडीको झुलाघाटमा मोटरेवल पुल निर्माण भएमा बैतडीका साथै सुदूरपश्चिमका ७ पहाडी जिल्लाहरुका लागि व्यापार तथा पर्यटन प्रर्वधन हुने छ ।
उक्त क्षेत्रमा आवतजावत सहज भएमा नेपाली उत्पादनले भारतीय बजार पाउनुका साथै उपभोग्य बस्तुहरु सुलभ मुल्यमा प्राप्त गर्न सजिलो हुनेछ । भारत भ्रमणका क्रममा मन्त्री भण्डारीले भारतीय पक्षसँग सीमा समस्याहरू समाधानमा विषयमा समेत छलफल गरेका छन ।
यसका साथै कञ्चनपुर स्थित दोधारा चाँदनी सुख्खा बन्दरगाह निर्माण, अमलेखगन्ज–चितवन पेट्रोलियम पाइपलाइन, महोत्तरी–सर्लाही एलपिजि पाइपलाइन निर्माण लगायतका विषयमा छलफल भएको उनको सचिवालय स्रोतले जानकारी दिएको छ ।