दैलेख, १६ मंसिर- दैलेखको दुल्लु नगरपालिका १३–को वडाअध्यक्ष एमालेले जितेको छ ।
एमाले उम्मेदवार लालबहादुर शाही ५ सय ७४ मतसहित विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी काँग्रेसका शेरबहादुर शाहीले ५ सय ७१ मत पाए ।
उनीहरुबीचको मतान्तर ३ मतको मात्र छ । यस्तै नेकपा माओवादी केन्द्रका ढकेन्द्र शाहीले २ सय ७८, राष्ट्रिय स्वतन्त्र पार्टीबाट (रास्वपा) का रामबहादुर शाहीले ५३, राप्रपाका रेशम शाहीले १३ र नेपाल मजदुर किसान पार्टीका पूर्णप्रसाद उपाध्यायले ४ मत प्राप्त गरेका छन् ।
कूल १ हजार ५ सय २७ मत खसेकामा ३३ मत बदर भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
सो वडाका अध्यक्ष विर्खबहादुर शाहीको २२ माघ २०८० मा ब्रेन ट्युबरबाट निधन भएको थियो ।
शाही ३० वैशाख २०७९ मा सम्पन्न स्थानीय तहको निर्वाचनमा एमालेबाट वडाध्यक्षमा निर्वाचित भएका थिए ।