स्थानीय तह निर्वाचनः ४१ पदका लागि मतदान जारी

काठमाण्डु टुडे २०८१ मंसिर १६ गते ७:५३ मा प्रकाशित

काठमाण्डु, १६ मंसिर– स्थानीय तह उपनिर्वाचनअन्तर्गत मतदान सुरू भएको छ ।

आइतबार बिहान ७ बजेदेखि उपनिर्वाचन हुने तय भएको सबै स्थानीय तहमा मतदान सुरू भएको निर्वाचन आयोगकी प्रवक्ता नीता पोखरेलले जानकारी दिइन् ।
‘तोकिएकै समयदेखि मतदान सुरू भएको छ । सबै ठाउँमा शान्तिपूर्ण तवरबाट मतदान सुरू भएको रिपोर्ट प्राप्त भएको छ’, पोखरेलले भनिन् ।
उपनिर्वाचन हुने भनिएको ४४ मध्ये ४१ स्थानमा मतदान सुरु भएको हो । तीन स्थानीय तहमा यसअघि नै निर्विरोध निर्वाचित भइसकेका छन् ।
नगरपालिका प्रमुख एक, उपप्रमुख एक, गाउँपालिका अध्यक्ष दुई, उपाध्यक्ष चार र वडाध्यक्ष ३३ गरी ४१ पदका लागि उपनिर्वाचन हुन लागेको हो । उपनिर्वाचन हुने सम्बन्धित स्थानीय तहमा निर्वाचनका लागि गरिनुपर्ने आवश्यक सम्पूर्ण तयारी पूरा भएको निर्वाचन आयोगका प्रवक्ता नीता पोख्रेल अर्यालले जानकारी दिइन् ।

निर्वाचन हुने वडामा मतदाता नामावलीमा आफ्नो नाम समावेश भएको मतदान केन्द्रमा उपस्थित भई रोजेको उम्मेदवारको निर्वाचन चिह्नमा निर्धक्क भई मतदान गर्न आयोगले सम्पूर्ण मतदातालाई आग्रह गरेको छ ।
प्रवक्ता अर्यालका अनुसार मतदाता नामावलीमा नाम समावेश भएका मतदाताले मतदाता परिचयपत्र, नेपाली नागरिकताको प्रमाणपत्र, राष्ट्रिय परिचयपत्र, राहदानी, स्थायी लेखा नम्बर परिचयपत्र वा सवारी चालक अनुुमतिपत्रको सक्कल प्रमाणका आधारमा मतदान गर्न पाउनेछन् । उपनिर्वाचनमा विभिन्न २० राजनीतिक दल र स्वतन्त्र गरी तीन सय ७६ उम्मेदवार प्रतिस्पर्धामा छन् ।

तीन पद भने निर्विरोध भइसकेको छ । ओखलढुंगा जिल्ला समन्वय समिति प्रमुखमा कांग्रेसका टेकराज भट्टराई र कैलाली जिल्ला समन्वय समिति प्रमुखमा पनि कांग्रेसकी टीकाकुमारी चौधरी निर्विरोध भएकी छिन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us