काठमाण्डु, ६ मंसिर– काठमाण्डुको कालिमाटीस्थित स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणमा जोडिएका नेपाल प्रहरीका पूर्वडीआईजी छविलाल जोशीको बयान जारी छ ।
जिल्ला सरकारी वकिल कार्यालय काठमाण्डुमा उनको बयान जारी रहेको स्रोतले जानकारी दिएको छ ।
मंगलबार साँझ पोखराबाट काठमाण्डु ल्याइएका जोशीको बुधबारबाट बयान लिन सुरु गरिएको हो । भोलि शुक्रबारसम्म जोशीको बयान सकेर पोखरा फिर्ता पठाउने तयारी रहेको जिल्ला प्रहरी परिसर काठमाण्डुले जानकारी दिएको छ ।
स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणमै पक्राउ पूर्जी जारी भएपछि पोखराबाट कुमार रम्तेललाई काठमाण्डु झिकाएर बयान गरिएको थियो ।
शनिबार काठमाण्डु ल्याइएका रम्तेललाई बयान सकेर मंगलबार फिर्ता गरिएको थियो । जोशीको पनि बयान सकेर पोखरा फिर्ता गराउने तयारी प्रहरीको छ ।
त्यसपछि राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेलाई बयानका लागि काठमाण्डु ल्याइने परिसर स्रोतले जानकारी दिएको छ ।