काठमाण्डु ६ कात्तिक– पूर्व प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्य्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकार सुशासनको मामिलामा निकै कमजोर देखिएको दाबी गरेका छन ।
साथै उनले वर्तमान सरकार आफ्नालाई बचाउने र प्रतिद्वन्द्वीलाई खोजीखोजी हान्ने खेलमा लागेको आरोप पनि लगाएका छन । पार्टीले कार्तिक १० गते काठमाण्डुमा गर्ने जनप्रदर्शन र खबरदारीसभाको तयारीका लागि आज पार्टी कार्यालय पेरिसडाँडामा बसेको पार्टीको बागमती र विशेष प्रदेश समन्वय समिति तथा जनवर्गीय संगठनका इञ्चार्ज तथा अध्यक्षहरुको संयुक्त बैठकलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले यस्तो बताएका हुन ।
माओवादी केन्द्र कांग्रेस एमालेभन्दा भिन्न रहेको स्पष्ट गर्दै उनले आफ्नो नेतृत्वको सरकारले सुशासनका पक्षमा कसैको दल र अनुहार नहेरेर कारवाही गरेको तर अहिलेको सरकार प्रतिद्वन्द्वीलाई मात्रै प्रहार गर्ने गरी अघि बढेको पनि बताएका छन ।
हिजो मात्रै बिपक्षी दलहरुको तर्फबाट बालुवाटारमा ज्ञापनपत्र बुझाउन गएको बेला प्रधानमन्त्रीसँग भएको संवाद सुनाउँदै उनले भने– ‘मैले स्पष्टसँग भनेको थिएँ, तपाइँ र हामीमा फरक के भयो भने हामीले के माओवादी, के कांग्रेस, के एमाले कुनै दल नहेरेर गल्ती गरेको छ भने सबैलाई कानुनबमोजिम ल्याउनुपर्छ भनेर लाग्यौं तर तपाइँहरुले कांग्रेस र एमालेका नेताले गल्ती गरेको छ्याङै देख्दा पनि बचाउनुभएको छ र आफ्नो राजनीतिक प्रतिद्वन्द्वी देख्नुभयो भने खोजीखोजी हान्नुभएको छ ।’
सरकारले गर्नुपर्ने काम नगरेको तर गर्न नहुने काममा बढी ध्यान दिएको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले सरकारको ‘हनिमुड पिरियड’लाई ध्यान दिंदै अहिलेसम्म सडकमा नआएको तर अब सरकारको सय दिन पुगेकाले सडक प्रदर्शनमा कार्यक्रम अघि सार्न थालेको बताएका छन ।
आफ्नो पार्टी नेतृत्वको सरकारले १८ महिनामा गरेका कामले जनतामा उत्साह थप्दै गएको बेलामा भ्रष्टाचारीलाई बचाउन नयाँ समीकरण बनेको जनताले राम्ररी बुझेको उल्लेख गर्दै उनले यसलाई थप स्पष्ट गर्दै अब सरकारका गलत कार्यको भण्डाफोर गर्दै लैजानुपर्ने पनि बताएका छन ।