काठमाण्डु, ४ कात्तिक– एमालेले पार्टी कार्यालय निर्माणका लागि व्यवसायी मीनबहादुर गुरुङबाट जग्गा दान लिएको विषयमा प्रशन उठाउने नेता कार्यकर्तामाथि कारबाही गर्ने भएको छ ।
एमाले सचिवालयको आइतबारको बैठकले पार्टीको आधिकारिक निर्णयविपरीत जग्गा दान लिएको विषयमा अभिव्यक्ति दिने नेता कार्यकर्तासँग स्पष्टीकरण सोध्ने निर्णय गरेको हो ।
बैठकले त्यसबारे सार्वजनिक बहस गर्न पार्टी पंक्तिलाई रोक लगाएको छ । असन्तुष्टि वा असहमति भए सम्बन्धित कमिटीमा राख्न निर्देशन दिइएको छ ।
बैठकले पूर्वउपाध्यक्ष डा. भीम रावल, स्थायी कमिटी सदस्य डा. विन्दा पाण्डे र केन्द्रीय सदस्य उषाकिरण तिमल्सिनालाई स्पष्टीकरण सोध्ने निर्णय गरेको महासचिव शंकर पोखरेलले जानकारी दिए ।
पार्टी केन्द्रीय कार्यालयको भवन निर्माणका सन्दर्भमा चलिरहेको बहस छलफलहरुमा पार्टी निर्णयको विरुद्धमा जाने पार्टीका नेताहरुलाई पार्टीका तर्फबाट स्पष्टीकरण सोध्ने निर्णय भएको छ ।
लामो समय पार्टी नीतिसँग असहमति राखेर आफ्ना विचारहरु प्रकट गरिरहनुभएका पार्टीका पूर्वउपाध्यक्ष भीम रावललाई पनि पार्टीका तर्फबाट स्पष्टीकरण सोध्ने कुरा भएको छ’, पोखरेलले भने, ‘यसैगरी पार्टी स्थायी समिति सदस्य बिन्दा पाण्डे र केन्द्रीय सदस्य उषाकिरण तिमिल्सिनाले पार्टी निर्णयविपरीत सार्वजनिक रुपमा अभिव्यक्ति दिनुभएकोमा के कति कारणले उहाँहरुले त्यस खालका गतिविधिहरु गरिराख्नुभएको छ भन्ने विषयमा स्पष्टीकरण सोध्ने कुरा भएको छ ।’
उनीहरुले एमाले पार्टी कार्यालय आफैं बनाउन सक्षम रहेको भन्दै विवादित व्यवासायीसँग स्वार्थ बाझिने गरी जग्गा दान दिने निर्णयले पार्टी पंक्तिको साख गिरेको अभिव्यक्ति दिएका थिए ।
कीर्तिपुरमा गुरुङले दान दिएको १० रोपनी १४ आना जग्गामा दशैंको एक दिनअघि प्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष केपी ओली दम्पती र गुरुङ दम्पतीले संयुक्त रुपमा पार्टी कार्यालय भवनको शिलान्यास गरेका थिए ।
गुरुङले उक्त जग्गामा आफैंले एक वर्षभित्र ९ तले अत्याधुनिक भवन बनाएर एमालेलाई हस्तान्तरण गर्ने बताएका छन् ।