वडाअध्यक्षलाई कार्यबाहक दिने हर्क साम्पाङको निर्णय कार्यान्वयन नगर्न उच्च अदालतको आदेश

काठमाण्डु टुडे २०८१ कार्तिक ४ गते १८:२२ मा प्रकाशित

काठमाण्डू, ४ कात्तिक- उच्च अदालत विराटनगरले उपमेयरलाई बाइपास गरी वडाध्यक्षलाई कार्यवाहक तोक्ने धरान उपमहानगरपाल्काका मेयर हर्क साम्पाङको निर्णय कार्यान्वयन नगर्न अल्पकालीन आदेश दिएको छ ।

न्यायाधीश ध्रुवराज नन्दको एकल इजलासले मेयरको पत्र कार्यान्वयन नगर्न आइतबार अल्पकालीन आदेश दिएको हो

आफू बेलायत जाने भएपछि मेयर साम्पाङले धरान-११ का वडाध्यक्ष लोकेन्द्रकुमार फागोलाई असोज २८ देखि आफू उपस्थित नहोउन्जेलसम्मका लागि कार्यवाहक मेयरको रुपमा काम गर्न २३ असोजमा पत्राचार गरेका थिए ।

आफू हुँदाहुँदै वडाध्यक्षलाई कार्यवाहक दिने साम्पाङको निर्णय कार्यान्वयन नगर्न उत्प्रेषणयुक्त परमादेश माग्दै उपमेयर अइन्द्रविक्रम बेघा रिट लिएर अदालत गएका थिए ।

रिटमाथि आइतबार सुनुवाइ गर्दै अदालतले कात्तिक ६ गते बुधबार दुवै पक्षलाई छलफलका लागि बोलाएको छ । आदेशमा भनिएको छ-‘स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा १६ को कार्य विभाजन सम्बन्धी व्यवस्था अन्तर्गतको उपदफा ४ को देहाय (क) को देहाय १२ ले गरेको व्यवस्था र धरान नगर कार्यपालिका कार्य विभाजन नियमावली, २०७४ को अनुसूची ४ मा काम, कर्तव्य र अधिकार सम्बन्धमा भएको व्यवस्था एवं सुविधा सन्तुलनको दृष्टिकोणबाट समेत उल्लेखित अन्तरिम आदेश सम्बन्धी छलफल पेसीका दिन सम्मको लागि धरान उपमहानगरपालिका नगर कार्यपालिकाको कार्यालयबाट लेखिएको च नं  २३२८ मिति २०८१–६– २३ को पत्र कार्यान्वयन नगरी यथास्थितिमा राख्नु भनी विपक्षीहरूका नाममा उच्च अदालत नियमावली, २०७३ को नियम ४२ बमोजिम अल्पकालीन अन्तरिम आदेश जारी गरिदिएको ।’

मेयर हर्कले गारकानूनी निर्णय गरेको भन्दै विभिन्न ६ राजनीतिक दलले सामूहिक विज्ञप्ति जारी गरेका थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us