चेपाङलाई पनि चाहियो सभासद

काठमाण्डु टुडे २०७१ भदौ ८ गते १२:१४ मा प्रकाशित

काठमाण्डु, ८ भदौ– चेपाङ समुदायले मन्त्रिपरिषदबाट मनोनित गर्ने २६ सभासदभित्र चेपाङ समुदायलाई सहभागी गराउन माग गरेका छन् ।

chepang
सो समुदायले २६ मा मनोनित नगरिए प्रमुख राजनीतिक दलको पार्टी कार्यालयमा तालाबन्दी र चेपाङ् समुदाय वरिपरि हुने राजनीतिक कार्यक्रम बहिष्कार गर्ने चेतावनी दिएका छन् ।
नेपाल चेपाङ् संघ मकवानपुरले राजधानीमा आइतबार पत्रकार सम्मेलन गरेर राज्यको हरेक निकायमा समावेशी गर्ने नीति बने पनि कार्यन्वयनमा नआएको भन्दै आपत्ति जनाएको हो ।

संघका अध्यक्ष सन्तबहादुर चेपाङ समुदायका सातजना ठूला दलको समानुपातिक सूचीमा परेकामा एकजनालाई पनि संविधान सभामा नलगिएको भन्दै आक्रोश पोखे । ‘म आफैं पनि नेपाली काँग्रेसको समानुपातिक सूचीमा परेको व्यक्ति हो’, उनले भने, ‘तर मलाई संविधानसभामा कसैले पनि लाग चाहेन ।’
दलहरुले मुखले अल्पसख्यंक जातिलाई संविधानसभामा प्रतिनिधित्व गराउनुपर्छ भन्ने गरेको भए पनि  कार्यान्वयन गर्दा आफ्ना मान्छेलाई मात्र अवसर दिने गरिएको आरोप लगाए ।

संघका कोषाध्यक्ष रुद्र चेपाङ्ले पनि राज्यले लोपउन्मुख जातीहरुलाई आरक्षण र विशेष अवसरको कुरा गरे पनि अन्तिम अवस्थामा आएर ठूला दलहरुले आफ्ना मान्छेलाई मात्रै स्थान दिएको भन्दै आपत्ति प्रकट गरे ।

उनले जसरी भए पनि मन्त्रिपरिषदबाट हुने २६ सभासदको मनोनयनमा आफ्नो समुदायबाट प्रतिनिधित्व हुनुपर्नेमा जोड दिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us