इलाम, ७ भदौ– इलामलाई खुला दिसामुक्त बनाउन अभियान सञ्चालन गरिए पनि शिक्षक, संघसंस्था र सामुदायिक वन समूहका पदाधिकारीकै घरमा शौचालय नरहेको पाइएको छ ।
दानाबारीमा भर्खरै सञ्चालन गरिएको वडास्तरीय तथ्याङ्क अध्यावधिक, खुला दिसामुक्त अभियानसम्बन्धी अन्तरक्रिया र शौचालय अनुगमनका क्रममा शिक्षक, कर्मचारीकै घरमा शौचालय नभएको पाइएको हो ।
समाजका सचेत भनिएकाहरुकै घरमा शौचालय नभएपछि खुला दिसामुक्त क्षेत्र घोषणा गर्ने तयारीमा रहेको जिल्ला विकास समितिका अगाडि चुनौती थपिएको छ । जिविसले भदौ अन्तिममा जिल्लालाई खुला दिसामुक्त घोषणाको तयारी गरेको छ ।
जिविसको अनुगमन टोलीले दानाबारीका कर्मचारी, विद्यालय व्यवस्थापन समिति र अध्यक्ष, सरकारी कर्मचारी र बुद्धिजीवीका घरमा समेत शौचालय नभएको जनाएको छ । सामाजिक परिचालिका यशोदा कार्कीले सरकारी कर्मचारी र सामाजका अगुवा भनिएकाहरुकै घरमा शौचालय नहुनुले खुला दिसामुक्त अभियानमा चुनौती थपिएको बताइन ।