काठमाण्डु, ७ भदौ – एकीकृत माओवादीले पार्टी विवाद समाधनाका लागि आगामी असोज १ गते केन्द्रीय समिति बैठक बोलाएको छ ।

लाजिम्पाटस्थित अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ निवासमा शुक्रबार साँझ बसेको वैचारिक व्यवस्थापन समितिको बैठकले विवादको टुंडो केन्द्रीय समितिबाट लगाउने निर्णय गरेको हो ।
संस्थापन पक्षले मुलुकका विभिन्न स्थानमा गर्ने तय भएको कार्यशाला तत्काल स्थगित गर्ने र नेता बाबुराम भट्टराई समूहले समानान्तर कमिटी गठन नगर्ने सहमति भएको उपाध्यक्ष नारायणकाजी श्रेष्ठले काठमाण्डु टुडेलाई बताए ।
यस्तै समानान्तर कमिटी गठन भएका सबै जिल्लामा दुवै कमिटी भंग गरी आयोजक गठन गर्ने सहमति भएको छ । समानान्तर कमिटीसम्बन्धी ववाद मिलाउन गठित वर्षमान पुन नेतृत्वको कार्यदललाई पुन: सक्रिय बनाउने निर्णय भएको पनि श्रेष्ठले बताए ।
‘असोज १ गते केन्द्रीय समितिको बैठक बसेर एकता र रुपान्तरणको प्रक्रिया अगाडि बढाउन ठोस निष्कर्षमा पुग्ने भनिएको छ’, श्रेष्ठले भने, ‘जिल्लाहरुमा गर्ने भनिएको कार्यशाला रोक्ने र विवाद समाधान समितिलाई सक्रिय बनाउने कुरा भयो ।’ माओवादीले जनवर्गीय संगठनहरुका महाधिवेशन पनि तत्कालका लागि स्थगन गरेको छ ।
नेता बाबुराम भट्टराई समूहले देशका अधिकांश जिल्लामा समानान्तर कमिटी गठन गरेपछि पछिल्लो समय एमाओवादीभित्रको विवाद उत्कर्षमा पुगेको छ ।