सप्तरी, ६ भदौ– सप्तरी जिल्ला अदालतले शिक्षक अपहरणका आरोपीलाई सफाइ दिएको छ ।
न्यायधीश रामप्रसाद अधिकारीको इजलासले अपहरणमा संलग्न भनिएका १२ मध्ये १० जनालाई सफाइ दिएको हो ।
सफाइ पाउन बाँकी पनि अदालतमा उपस्थित हुन नआएकाहरु हुन् । सो समूहले काचन ५ सप्तरी घर भई लहान नगरपालिका–३ बस्दै आएका सूर्यनारायण साहलाई सप्तरीको दौलतपुर–१ लक्ष्मीपुर जंगलबाट चार वर्षअघि अपहरण गरेका थिए ।
साहका परिवारसँग अपहरणकारीहरुले ३० लाख फिरौती मागेका थिए । तर अपहरण भएको तीन दिनपछि अपहरणकारीको कब्जाबाट उम्कन सफल साहले ०६७ असोज २७ गते ईलाका प्रहरी कार्यालय कल्याणपुरमा किटानी जाहेरी दिएका थिए ।
साहले अपराधीलाई उन्मुक्ति दिइएकामा आक्रोश पोखेका छन् ।
उनले अदालतले अपराधीहरुको प्रभावमा परेर फैसला गरेको आरोप लगाए । उनले अपहरणकारीहरुले आफूलाई पटकपटक ज्यान मार्ने धम्की दिने गरेको बताए ।