काठमाण्ड, ६ भदौ– एकीकृत माओवादी नेता बाबुराम भट्टराईले केन्द्रीय कमिटीदेखि पार्टीका सबै संरचना सिवघटन गरिनुपर्ने माग गरेका छन् ।

भट्टराईले पदाधिकारी र वैचारिक व्यवस्थापन समितिको बैठकमा संस्थापन पक्ष विराटनगर राष्ट्रिय सम्मेलनबाट निर्वाचित केन्द्रीय कमिटी विघटन गर्न तयार भए जारी विवाद समाधान हुने बताएका हुन् । शुक्रबार बिहान अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग उनकै निवास लाजिम्पाटमा भएको भेटमा पनि भट्टराईले सोही माग जोडदार रुपमा उठाएका छन् ।
उनले केन्द्रीय कमिटी विघटन गरी महाविधेशन आयोजक समिति बनाउनुपर्ने सर्त राखेका छन् । एमाओवादीले एक वर्षभित्र विशेष महाधिवेशन गर्ने निर्णय यसअघि नै लिइसकेको छ । स्रोतका अनुसार पार्टी विवाद समाधान हुने अवस्थामा भट्टराईको माग पूरा गर्न अध्यक्ष प्रचण्ड सकारात्मक देखिएका छन् ।
प्रचण्डले स्थायी समिति सदस्यसमेतको उपस्थितिमा मंगलबार बसेको वैचारिक व्यवस्थापन समिति बैठकमा भट्टराईको माग पूरा गरेरै भए पनि पार्टीलाई फुट र विघटनबाट जोगाउनुपर्ने बताएका थिए । यद्यपि उपाध्यक्षद्वय नारायणकाजी श्रेष्ठ र पोष्टबहादुर बोगटीसहित अधिकांशले महाधिवेधनबाट चुनिएको केन्द्रीय कमिटी केही नेताको निर्णयका आधारमा विघटन हुन नसक्ने बताएपछि प्रचण्ड पछि हटेका थिए ।
आजै अपराह्न बस्ने वैचारिक व्यवस्थापन समितिको बैठकमा केन्द्रीय कमिटी विघटन गर्नुपर्ने बाबुरामको मागबारे छलफल हुने एक नेताले काठमाण्डु टुडेलाई बताए ।
‘बाबुरामजीले विवाद मिल्नका लागि हालको केन्द्रीय कमिटी विघटन गरी आयोजक समिति बनाउनुपर्ने सर्त राख्नुभएको छ’, ती नेताले भने, ‘आजको बैठकमा त्यसबारे छलफल हुन्छ ।’
विराटनगर राष्ट्रिय सम्मेलनबाट असन्तुष्ट बनेको भट्टराई समूहले काठमाण्डुसहित अधिकांश जिल्लामा समानान्तर कमिटी गठन गरिसकेको छ । भट्टराईले आफू पक्षधर नेतामाथिको कारबाहीसमेत फिर्ता हुनुपर्ने माग गरेका छन् ।
समानान्तर कमिटी गठन गरेको भन्दै स्थायी कमिटीले भट्टराई पक्षधर पोलिट्ब्युरो सदस्य गंगानारायण श्रेष्ठलाई तीन महिना र केन्द्रीय सदस्य रामरिझन यादवलाई एक महिनाका लागि निलम्बन गरेको थियो ।