रवि लामिछानेलाई पक्राउ गर्न लागिएको भन्दै पोखरामा रास्वपा कार्यकर्ताहरुको विरोध प्रदर्शन

काठमाण्डु टुडे २०८१ असोज ७ गते १३:३७ मा प्रकाशित

काठमाण्डु, ७ असोज– पूर्व उपप्रधान एवं गृहमन्त्री समेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई पक्राउ गर्न लागिएको भन्दै राष्ट्रिय स्वतन्त्र पार्टीका नेता–कार्यकर्ताले पोखराको शहीद चोकमा विरोध प्रर्दशन सुरु गरेका छन ।

लामिछानेमाथि राजनीतिक पूर्वाग्रह साँधेर फसाउन खोजिएको भन्दै उनीहरूले विरोध प्रर्दशन गरेका हुन । रास्वपा गण्डकी प्रदेश सभापति राजन गौतमको आह्वानमा पोखराको शहीद चोकमा नेता–कार्यकर्ताहरु भेला भएर प्रदर्शन सुरु गरेका हुन ।

प्रदर्शनमा सहभागीहरुले सहकारी पीडितको पक्षमा र सरकारको विरोधमा लेखिएका नारा सहितका प्लेकार्ड बोकेर प्रर्दशन गरिरहेका छन । रास्वपा गण्डकी प्रदेश सभापति गौतमले विरोध कार्यक्रम निरन्तर चल्ने जानकारी दिएका छन ।

सहकारीको रकम अपचलन सम्बन्धी संसदीय विशेष छानबिन समितिले गोरखा मिडिया प्रालिमा अनियमित तवरबाट विभिन्न सहकारीबाट ६५ करोड लगानी भएको निष्कर्ष निकालेको थियो ।

समिमितले गोरखा मिडियाका तत्कालीन प्रबन्ध निर्देशक रवि लामिछाने, अध्यक्ष जीबी राई, सञ्चालक कुमार रम्तेल र सदस्य छविलाल जोशीलाई कारबाही सिफारिस समेत गरेको थियो ।

सो प्रतिवेदन कार्यान्वयन गर्ने मन्त्रिपरिषदको निर्णयपछि आइतबार गोर्खा मिडिया प्रालिका पूर्वसञ्चालक एवम् पूर्व डिआइजी छविलाल जोशी पक्राउ परेका थिए । जोशी पक्राउ परेपछि अब रवि पनि पक्राउ पर्ने अनुमान रास्वपाका नेता कार्यकर्ताहरुले गरेका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us