पूर्वडिआइजी जोशीलाई कास्की अदालतमा उपस्थित गराइयो

काठमाण्डु टुडे २०८१ असोज ७ गते १३:१२ मा प्रकाशित

काठमाण्डु, ७ असोज– सहकारी ठगी प्रकरणमा पक्राउ परेका पूर्वडीआईजी छविलाल जोशीलाई जिल्ला अदालत कास्कीमा उपस्थित गराइएको छ । पक्राउ परी पोखरा लगिएका जोशीलाई आज म्याद थपका लागि अदालतमा उपस्थित गराइएको स्रोतले जानकारी दिएको छ ।

जोशी विदेश जाने तयारी गरेकोले जरुरी पक्राउ पुर्जी दिएर उनलाई काठमाण्डुबाट पक्राउ गरिएको थियो । उनी गोर्खा मिडियाका पूर्वसञ्चालक मध्ये एक हुन् ।

सूर्य थापा नेतृत्वको संसदीय छानबिन समितिले जोशीसहित चार व्यक्तिको नाम किटान गर्दै कारबाही गर्न निर्देशन दिएको थियो । सहकारी रकम छानबिन संसदिय विशेष समितिले सहकारीहरुको रकम दुरुपयोग र अपचलनमा छविलाल जोशीलाई पनि प्रमुख पात्रका रुपमा किटान गरेको छ ।

विभिन्न सहकारीको रकम ऋणको रुपमा निकाल्ने काममा उनको समेत प्रमुख भूमिका रहेको समितिको निष्र्कष रहेको छ । समितिको निर्णय कार्यान्वयनको निर्णय भएलगत्तै जोशी पक्राउ परेका हुन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us