ओलीले प्रधानमन्त्रीलाई भने, ‘ काँग्रेसका मन्त्री एमालेका सुराकी’

काठमाण्डु टुडे २०७१ भदौ ५ गते ८:०२ मा प्रकाशित

काठमाण्डु, ५ भदौ – प्रधानमन्त्री सुशील कोइरालाले संसदबाट राष्ट्रपति र उपराष्ट्रपतिलाई अनुमोदन गर्नुपर्ने बखेडा नगर्न सत्ता साझेदार एमाले अध्यक्ष केपी ओलीलाई आग्रह गरेका छन् ।

KP-Oliबिहिबार प्रधानमन्त्री निवास बालुवाटार पुगेका अध्यक्ष ओलीलाई सरकार सञ्चालनमा भएका कमजोरी सच्याउन आफू तयार रहेको भन्दै कोइरालाले राष्ट्रपतिको प्रसङ्ग छाडेर संविधान निर्माणमा लाग्न आग्रह गरेका हुन् ।

दुई नेताबीच भएको छलफलमा दुवै दलका अन्य नेता सहभागी थिएनन् । ओलीले सात बुँदे सहमतिमा राष्ट्रपति अनुमोदनको विषयमा आफैंले गरेको हस्ताक्षर नभूल्न कोइरालालाई सम्झाएको ओली निकट स्रोतले जनाएको छ ।

ओलीले सरकार सञ्चालन सुस्त भएको, एमालेले सम्हालेका मन्त्रालयमा काम हुन नदिइएको, राजदूत नियुक्तिमा प्रधानमन्त्रीले नै अवरोध गरेको जस्ता गुनासा राखेको स्रोतले जनाएको छ ।

ओलीले अहिलेकै अवस्थाबाट सत्ता सहकार्य अघि बढ्न नसक्ने भन्दै कडा ढंगले प्रस्तुत भएको उनी निकट स्रोतले बतायो । ‘एमालेका मन्त्रीहरुको पछाडि कांग्रेसका मन्त्रीलाई सुराकीको रुपमा खटाइएको छ, यसरी चल्दैन’ ओलीको भनाइ उधृत गर्दै स्रोतले भन्यो ।

प्रधानमन्त्रीले सरकार सञ्चालनमा उत्पन्न असमझदारी हटाएर एमालेसँग मिलेर काम गर्न आफू तयार रहेको बताएका थिए । उनले राष्ट्रपति अनुमोदनको कुराले संविधान निर्माण प्रभावित हुने बताएका थिए ।

दुई नेताबीच राजदूत नियुक्ति, २६ सभासद मनोनयन लगायत संविधान निर्माणमा साझा धारणा बनाउने बारेमा पनि छलफल भएको स्रोतले जनाएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us