मन्त्रीहरूलाई प्रधानमन्त्री ओलीको निर्देशनः गतिमा तीव्रता, काममा योजनाबद्धता हुनुपर्छ

काठमाण्डु टुडे २०८१ भदौ २७ गते १७:०० मा प्रकाशित

काठमाण्डु २७ भदौ– नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीहरूलाई कामको गति बढाउन र योजनाबद्ध कामहरू गर्न निर्देशन दिएका छन ।

आज बिहीबार मन्त्रीहरूसँग कार्यसम्पादन सम्झौतापछि आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो निर्देशन दिएका हुन । प्रधानमन्त्री ओलीले मन्त्री हरुलाई निर्देशन दिँदै भने, ‘कामलाई व्यवस्थित र गति दिन यसले सहयोग पुर्‍याउनेछ भन्ने विश्वस्त छु, ‘कार्यसम्पादन सम्झौतामा छैन भनेर गर्नुपर्ने काम नगर्ने होइन ।’

उनले सरकारको मूलभूत नीति र कार्य योजनाअनुसार कार्यसम्पादन सम्झौता भएको भन्दै कति अवधिभित्र कुन कुन मन्त्रालयले कति काम गरिसक्ने ? भन्नेमा प्रस्ट हुनका लागि सम्झौता गरिएको पनि बताएका छन ।

ओलीले भने, ‘हामीले मूलभूत नीति र कार्य योजनाअनुसार आवधिक लक्ष्य निर्माण गरेका छौँ । ती लक्ष्यअनुरूप उपप्रधानमन्त्री, मन्त्री र मुख्यसचिवसँग कार्यसम्पादन सम्झौता भएको छ’, प्रधानमन्त्रीले भने, ‘ठोस कामको ठोस प्रतिबद्धता गरेका छौँ ।

हामी टिम स्पिरिटमा काम गर्छौ, देशप्रति जिम्मेवार भएर जनताका हितका निम्ति, समाजमा शान्ति सुव्यवस्थाका लागि समृद्धि र सुशासनको यात्रा अघि बढाउन प्रतिबद्ध र सहमत छौ ।’

उनले कार्यसम्पादन सम्झौतापछि सरकारको काम थप योजना र सक्रियतासाथ अघि बढ्ने विश्वास व्यक्त गरेका छन ।उनले भने, ‘हाम्रो कमजोरी बिस्तारै गर्ने विगतको अभ्यास छ । ढिलो र अलमल गर्ने, अलमल र विश्राम गर्ने सुविधा अव हामीसँग छैन । गतिमा तीव्रता, काममा योजनाबद्धता चाहिन्छ । पारस्परिक साथ र सहयोग चाहिन्छ’ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us